रोनाल्डोको लिग उपाधि जित्ने अवसर कायमै, तर गोल्डेन बुट हातबाट फुत्किने डर

रोनाल्डोको लिग उपाधि जित्ने अवसर कायमै, तर गोल्डेन बुट हातबाट फुत्किने डर

केन्द्रबिन्दु
120
Shares

काठमाडाैं | साउदी प्रो लिगको उपाधि होड अन्तिम चरणमा पुग्दा क्रिस्टियानो रोनाल्डोको टोली अल नासर दोहोरो दबाबमा देखिएको छ। गएराति अल हिलालसँग १-१ गोलको बराबरीमा रोकिएपछि अल नासरले २ खेल अगावै उपाधि पक्का गर्ने सुवर्ण अवसर गुमाएको थियो । यद्यपि, रोनाल्डो र उनको टोली अझै पनि लिग च्याम्पियन बन्ने बलियो सम्भावना भने कायमै छ।

अल हिलाल विरुद्धको खेलमा अल नासरले सुरुवाती अग्रता लिए तापनि अन्तिम मिनेटमा आत्मघाती गोलका कारण अंक बाँड्नु परेको थियो। सो खेलमा मोहम्मद सिमाकानले ३७औँ मिनेटमा गोल गरेका थिए भने खेलको अन्तिम समयमा गोलकिपर बेन्टोबाट आत्मघाती गोल हुन पुगेको थियो।

बराबरीमा रोकिएपछि अल नासरका गोलकिपर बेन्टोको कडा आलोचना भइरहेको छ । तर, रोनाल्डोले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई धैर्य रहन र टोलीमा एकता कायम राख्न सन्देश दिएका छन्। अल नसरलाई च्याम्पियन बन्न अब आफ्नै जीत वा अर्को खेलमा अल हिलालको हार वा बराबरीको नतिजा आवश्यक छ । रोनाल्डोको मुख्य प्राथमिकता यसपटक साउदी प्रो लिग र एएफसी च्याम्पियन्स लिग दुवै जितेर ऐतिहासिक सफलता हात पार्नु रहेको छ।

लिग उपाधि नजिक रहे पनि रोनाल्डोले यस सिजनको ‘गोल्डेन बुट’ भने गुमाउने लगभग निश्चित देखिएको छ। विगतका दुई सिजन (२०२३-२४ र २०२४-२५) लगातार गोल्डेन बुट जितेका रोनाल्डो अहिले गोल तालिकाको तेस्रो स्थानमा छन्।

हाल इभान टोनी ३१ गोलका साथ शीर्ष स्थानमा छन् भने जुलियन क्विनोनेस २९ गोलसहित दोस्रो स्थानमा छन्। २६ गोल गरेका रोनाल्डोलाई यो अवार्ड जित्नका लागि दामक विरुद्धको अन्तिम खेलमा कम्तीमा ६ गोल गर्नुपर्नेछ ।

Logo