काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोली घोषणा गरेको छ । भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपालको टोलीको अन्तिम लिस्ट घोषणा गरिएको हो ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक सिनियर टोलीमा स्थान बनाएका हुन्। गीता राना, सविना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेकी छन्।
भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा श्रीलंका र भुटान रहेको समूह ‘ए’ मा नेपाल छ। साफ समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। जेठ १७ गते नेपाल र श्रीलंकासँग खेल्ने छ ।
सेमिफाइनल खेल जेठ २० गते तथा उपाधि भिडन्त जेठ २३ गते शनिबार हुनेछ। साफ च्याम्पियनसिपका खेलहरू पण्डित जवाहरलाल नेहरू स्टेडियम गोवामा हुनेछन्।
अन्तिम टोली :
एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पुजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समिक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दिपा शाही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पुर्णिमा राई, मिना देउवा ।




















