जोसे मौरिन्हो रियल मड्रिडको प्रशिक्षकमा फर्किँदैछन् ?

जोसे मौरिन्हो रियल मड्रिडको प्रशिक्षकमा फर्किँदैछन् ?

केन्द्रबिन्दु
15
Shares

म्याड्रिड । फुटबल जगतका चर्चित प्रशिक्षक जोसे मौरिन्हो १३ वर्षपछि पुनः स्पेनिस क्लब रियल मड्रिडको कमान्ड सम्हाल्ने तयारीमा देखिएका छन्।

६३ वर्षीय पोर्चुगिज प्रशिक्षक मौरिन्हो र रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीच अर्को हप्ता निर्णायक वार्ता हुने तय भएको छ। हाल बेन्फिकाको प्रशिक्षक रहेका मौरिन्हो नै अहिले रियल मड्रिडको मुख्य रोजाइमा रहेका एकमात्र उम्मेदवार हुन्।

मौरिन्हो गत सेप्टेम्बरमा दुई वर्षको सम्झौतामा बेन्फिका पुगेका थिए। यद्यपि, उनको सम्झौतामा एउटा विशेष प्रावधान छ जसअनुसार सिजनको अन्तिम खेलको १० दिनभित्र ३ मिलियन युरो (करिब २.६ मिलियन पाउन्ड) तिरेर उनले क्लब छाड्न सक्नेछन्। बेन्फिकाले उनलाई सम्झौता नवीकरणको प्रस्ताव गरे पनि मौरिन्होले त्यसलाई अस्वीकार गर्ने संकेत दिएका छन्।

आइतबार एस्टोरिलविरुद्धको खेलपछि मौरिन्होले आफ्नो भविष्यबारे औपचारिक निर्णय लिने बताइएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अहिले मेरो ध्यान एस्टोरिलविरुद्धको खेलमा छ। सोमबारदेखि मात्र म मेरो र क्लबको भविष्यबारे प्रश्नहरूको जवाफ दिन सक्षम हुनेछु।”

रियल मड्रिडका लागि सन् २०२५-२६ को सिजन निकै निराशाजनक रह्यो। क्लबले यो सिजन कुनै पनि उपाधि जित्न सकेन। चिरप्रतिद्वन्द्वी बार्सिलोनाले १४ अंकको फराकिलो अन्तरले ला लिगाको उपाधि कब्जा गर्दा रियल मड्रिड निरीह देखियो। च्याम्पियन्स लिगमा पनि टोली बायर्न म्युनिखसँग क्वार्टरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।

जाबी अलोन्सोले क्लब छाडेपछि गत जनवरीमा अल्भारो अर्बेलोआलाई प्रशिक्षक नियुक्त गरिएको थियो, तर उनले टोलीमा अपेक्षित सुधार ल्याउन सकेनन्। मैदान बाहिर पनि क्लबमा विवाद चुलिएको छ । हालै ड्रेसिङ रुममा भएको झगडाका कारण औरेलिन चुवामेनी र फेडेरिको भाल्भर्डेलाई १ मिलियन युरो जरिवाना गरिएको छ। यस्तो अस्थिर अवस्थामा क्लबलाई मौरिन्हो जस्तो अनुभवी र कडा स्वभावको प्रशिक्षकको आवश्यकता रहेको अध्यक्ष पेरेजको ठम्याइ छ।

मौरिन्होले यसअघि सन् २०१० देखि २०१३ सम्म रियल मड्रिडको प्रशिक्षण सम्हालिसकेका छन्। त्यस समयमा उनले क्लबलाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जिताएका थिए। मड्रिड छाडेपछि उनले चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, रोमा र फेनेरबाचे जस्ता ठूला क्लबहरूमा काम गरिसकेका छन्।

मौरिन्हो मड्रिड जाने लगभग निश्चित भएपछि बेन्फिकाले पनि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ। मौरिन्होको स्थान लिनका लागि फुलह्यामका प्रशिक्षक मार्को सिल्भा र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक रुबेन एमोरिमको नाम चर्चामा छ, जसमा मार्को सिल्भालाई बलियो दाबेदार मानिएको छ।

Logo