काठमाडौं । इंलिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको यस जितसँगै युनाइटेडले लिग तालिकाको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए। म्यानचेस्टर युनाइटेडका लागि खेलको पाँचौँ मिनेटमै लुक शले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडका लागि दोस्रो हाफमा माथेउस कुन्हाले ५४ औँ मिनेटमा र ब्रायन म्बेउमोले ७५ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
अर्कोतर्फ, नटिङ्घम फरेस्टले पनि युनाइटेडलाई कडा टक्कर दिएको थियो। फरेस्टका लागि ५२ औँ मिनेटमा मोराटो र ७७ औँ मिनेटमा मोर्गन गिब्स–वाइटले गोल गरे पनि टोलीलाई पराजयबाट जोगाउन सकेनन्।
यस जितसँगै ३७ खेल खेलिसकेको म्यानचेस्टर युनाइटेड ६८ अङ्कका साथ लिग तालिकाको तेस्रो स्थानमा यथावत छ। पराजित नटिङ्घम फरेस्ट भने तालिकाको १६ औँ स्थानमा छ र उसलाई रेलिगेसनको दबाब कायमै रहेको छ।





























प्रतिक्रिया