छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा हुने

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा हुने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । यस वर्ष जेठ २० गते (जुन ३) का दिन छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन् ।

समान्यतः पदयात्रीले तीन दिनको समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकहरूले चार घण्टा बढीको समयमा यो दूरी पार गर्नेछन् ।

यसअघिका पाँचौ संस्करणसम्म प्रथम हुने धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको गुरुङले जानकारी दिए । पदयात्राका क्रममा भने यो मार्ग पार गर्न तीन दिन लाग्छ ।

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिए ।

अन्नपूर्ण प्रथम हिमाल हिमाल आरोहणको ७६ वर्ष पुगेको जानकारी दिँदै उहाँले अघिल्लो पाँचौँ संस्करणको म्याराथनलाई हीरक उत्सवका रुपमा मनाइएको बताए । “यस संस्करणमा महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धाका लागि स्वदेशी एवं विदेशी धावकहरूले नाम दर्ता गराइरहेका छन् । हालसम्म १३ जना विदेशीसहित ४० जना धावकहरूले नाम दर्ता गराएका छन् ।

यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्यारथनमा भाग लिने निश्चित भएको छ । म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रा र तेस्रो हुने धावकहरूले क्रमशः रु एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिए ।

आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथमसहित गण्डकी प्रदेशभित्र धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले अपेक्षित गति लिन नसकेको अवस्था यस किसिमका गतिविधिले विशेष महत्व राख्ने उनको भनाइ छ ।

अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

Logo