काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको रोमाञ्चक भिडन्तमा नेपालले लिग लिडर अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। उत्कृष्ट ब्याटिङ र धारिलो बलिङको मद्दतले नेपालले अमेरिकालाई खेलको कुनै पनि मोडमा सम्हालिने मौका दिएन।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले। ८३ बलको सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै, मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै मात्र ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५९ रनको महत्त्वपूर्ण योगदान दिए। कप्तान रोहित पौडेलले ४६ रन र आसिफ शेखले ४३ रन जोड्दै टोलीको इनिङलाई बलियो बनाए। अमेरिकाका तर्फबाट शुभम रञ्जनेले ३ विकेट लिए पनि नेपाली ब्याटरहरूलाई रोक्न सकेनन्।
३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा मात्र १९५ रनमा समेटिन पुग्यो। अमेरिकाका लागि संजय कृष्णमुर्तीले ४४ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
नोसथुस केन्जिगेले २९ रन र शयन जहाङ्गीरले २७ रन जोड्नु बाहेक अन्य ब्याटरहरू क्रिजमा धेरै समय टिक्न सकेनन्। ओपनर स्मित पटेललाई शून्य रनमै गुमाएपछि दबाबमा आएको अमेरिका लगातार विकेट पतनको सिकार भयो।
अमेरिकालाई सस्तैमा समेट्न नेपालका स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै १० ओभरमा १ मेडन राखेर मात्र ३० रन खर्चिँदै महत्वपूर्ण ३ विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाको नाममा समान २–२ विकेट रह्यो भने सोमपाल कामीले १ विकेट चट्काए।
यो जितसँगै नेपालले अङ्क तालिकामा पाँचौँ स्थानमा यथावत् छ । हालसम्म खेलिएका २८ खेलमध्ये ११ मा जित र १५ मा हार बेहोरेको नेपाल २४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा रहेको हाे । पराजित भए पनि अमेरिका ३८ अङ्कसहित पहिलो र स्कटल्याण्ड समान ३८ अङ्क भए पनि नेटरनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ।































प्रतिक्रिया