इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
378
Shares

काठमाडाैं । मलेसियाको क्वालालम्पुरमा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाली महिला टोलीले इन्डोनेसियामाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। समूह ‘बी’ अन्तर्गतको यस खेलमा नेपालले खेल सकिन ३ बल बाँकी छँदै ११४ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको हो। याे जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो।

आज टस जितेर पहिले ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको मध्यम योगफल खडा गरेको थियो। इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा साकारिनीले धैर्यवान् ब्याटिङ गर्दै ६२ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेलिन्। बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले निकै कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन्।

११४ रनको चुनौती पछ्याउने क्रममा नेपालको सुरुवात भने केही कमजोर रह्यो। ओपनर सम्झना खड्का १ रन र पुजा महतो ९ रनमा आउट भएपछि नेपाल केही दबाबमा परेको थियो। तर, कप्तान इन्दु बर्माले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितको नजिक पुऱ्याइन्। इन्दुले ४३ बलको सामना गर्दै ५ चौकाको मद्दतले अविजित ४२ रन जोडिन्।

उनलाई मध्यक्रममा सोनी पाख्रिनले २९ रन र अन्त्यतिर सीता राना मगरले विष्फोटक ब्याटिङ गर्दै ६ बलमा १३ रन बनाएर राम्रो साथ दिए।

इन्डोनेसियाका लागि नि मादे पुत्री सुवान्देवि र नि अरियानीले समान २–२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

Skip This
Skip This
Logo