विराट कोहली बेंगलुरु टिमको ‘धड्कन’

विराट कोहली बेंगलुरु टिमको ‘धड्कन’

केन्द्रबिन्दु
12
Shares

अहमदाबाद । रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जित्दा त्यसमा विराट कोहलीले ७५ रन बनाएका थिए । गुजरात टाइटन्सविरुद्धको जितमा अविजित त्यही इनिङ्स निर्णायक रह्यो । यस्तोमा उनलाई बेंगलुरु टिमको ‘धड्कन’ भन्न सुरु भएको छ ।

जितका लागि बेंगलुरुले १ सय ५६ रन पछ्याएको थियो । जितसम्म पुग्दा ३७ वर्षीय कोहली मैदानमै थिए । जित अन्तर थियो, ५ विकेट । कोहलीलाई के पनि भन्ने गरिन्छ भने उनी ‘चेज मास्टर’ हुन् । छक्का प्रहार गर्दै उनले जितको औपचारिकता पूरा गरेका थिए । ट्वान्टी–२० क्रिकेटको यस प्रतियोगितामा उनले यो सिजन ६ सय ७५ रन बनाए ।

सोमबार बेंगलुरुले जारी गरेको भिडियो सन्देशमा प्रशिक्षक एन्डी फ्लावरले भनेका छन्, ‘कोहलीले धेरै चर्चा पाउने सबैलाई थाहा नै छ र यो स्वभाविक पनि छ । यस्तो किनभन्दा उनी यसका हकदार छन् । यति भन्न मैले कन्ज्युस्याइँ पनि गर्नुहुन्न, किनभने कोहली बेंगलुरु टिमका धड्कन हुन्, उनी ड्रेसिङ रुमका ज्यान हुन् ।’

कोहलीले वैंकटेश अय्यरसँग मिलेर पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरेर जित आधार तयार पारेका थिए । कोहलीले गुजराती पेस बलर कागिसो रबाडाको बलमा दुई चौका र एक छक्का प्रहार गरेर प्रभावशाली सुरुआत दिलाए । एक लाख ३० हजार दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियममा बेंगलुरुको प्रदर्शन प्रभुत्वशाली नै रह्यो ।

ती दर्शकमध्ये अधिकांश कोहलीकै समर्थक थिए । फाइनलपछि बोल्दै भारतका पूर्व खेलाडी सुनिल गावस्कारले भनेका छन्, ‘यस्तै स्थितिमा कोहली निर्णायक हुनेगर्छन् । खेलबाट फेरि एकपल्ट प्रमाणित भएको छ, उनी कति अब्बल दर्जाका खेलाडी हुन् भनेर । उनको खेल्न शैली नै जित्नका लागि जस्तो हुन्छ ।’ आईपीएल प्रमुख अरुण धुमलले अझ एक पाइला अगाडि बढ्दै भनेका छन्, ‘कोहलीलाई अब थप उपाधि जित्न आवश्यक छैन, उनी आफैं उपाधि भइसकेका छन् ।’

गत सिजन बैंगलुरुले पहिलो पटक आईपीएल उपाधि जितेको थियो, त्यो पनि १८ औं पल्टको प्रयास पछि । त्यसपछि लय समातेको बेंगलुरुको उच्च प्रदर्शन अहिले कायम नै छ । यसपल्ट पनि लिग चरण समाप्तिमा यही टिम शीर्षस्थानमा रहेको थियो । प्लेअफको पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई सजिलै हराएको थियो । यस जितले टिम सिधै फाइनल पुगेको थियो । रंगशालामा उपस्थित दर्शकमध्ये यसपल्ट फाइनलमा पनि धेरैले कोहली नाम अंकित जर्सी नै लगाएका थिए ।

पूरा खेल अवधिमा तिनका मुखबाट एउटै नारा बजिरह्यो, कोहली, कोहली । फाइनलपछि उनी आफैंले भने, ‘यिनै दर्शककै कारण हामीले सात होइन, सबै १४ खेल नै घरमै खेले जस्तो भयो । जता जता गयौं, दर्शक हाम्रै समर्थनमा रहे । तिनकै कारण जित्न प्रेरित रह्यौं । नत्र फाइनल खेलमा गुजरात घरको टिम थियो, तर मलाई लाग्छ ९० प्रतिशत दर्शक हाम्रै समर्थक थिए ।’एएफपी

Logo