कान्सास सिटी । जतिबेला लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप २०२६ मा अल्जेरियाविरुद्ध पहिलो गोल गरे, खुबै भावनात्मक बने । उनले आँसु रोक्नै सकेनन् । आफ्नो सेतो र आकासे रंगको जर्सीको अघिल्लो भाग माथि उठाएर उनले त्यो आँसु पुछे । अरू बेला मेसी यति धेरै भावनात्मक कमै मात्र बनेका छन् । बढीभन्दा बढी आत्मविश्वास देखिन्थे । पहिलो गोल गरेपछि उनी फरक देखिए ।
त्यसपछि उनले दोस्रो गोल पनि गरे अनि तेस्रो गोल । ह्याट्रिक पूरा भयो । यस्तोमा मेसीको ह्याम्स्ट्रिङ चोटबारे उठिरहेको प्रश्नले उत्तर पायो । उनी ३९ वर्षका हुनेक्रममा छन्, तर झन् झन् राम्रो पो खेल्न थालेका छन्, त्यो पनि कसैको आँखामा नबिझाउने गरेर । यही उत्कृष्ट ह्याट्रिकपछि मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक (१६) गोलको कीर्तिमान पनि बराबरी गरेका छन् ।
खेलपछि मेसीले भने, ‘धेरैलाई लाग्न सक्छ, म पहिलो गोलमा किन रोएँ भनेर । पछिल्ला केही दिन मेरा लागि असाध्यै कठिन रहे र यी सबै फुटबलसँग सम्बन्धित भने होइन । यिनै कारणले म केही भावनात्मक भएको हुँ । यतिबेला म आफ्ना साथीहरू, प्रशिक्षकको समूह र पदाधिकारीलाई सबैलाई धन्यवाद दिन चाहन्छु, सबैले मलाई धेरै सहयोग गरे ।’
ती फुटबलबाहिरका कारण के के थिए, मेसीले खुलाउन चाहेनन् । खेलपछि प्रशिक्षक लियोनल स्कालोनी पनि अवाक जस्तै देखिए । उनको भनाइ यत्तिमात्रै थियो, ‘मेसीबारे बोल्ने शब्द नै पाइनँ मैले । के मात्र भन्ने र ? उनी साँच्चै महान खेलाडी हुन् ।’ मेसीले विश्वकप खेल्न थालेको दुई दशक भइसकेको छ । तर ह्याट्रिक गोल निस्केको भने अहिले मात्रै हो ।
उनले विश्वकपमा डेब्यु गरेको भनेको सर्बिया एन्ड मोन्टेनेग्रोविरुद्ध हो । त्यसमा पनि मेसीले एक गोल गरेका थिए । उनले जति विश्वकप खेलेका छन्, एक अपवादलाई छाडेर सबैमा गोल गरेका छन्, त्यो भनेको ६ संस्करणको विश्वकप । यी विश्वकपमा उनले गरेको गोलसंख्या १६ पुगेको छ । केही दिन अगाडिसम्म पनि मेसीले क्लोजको कीर्तिमान भंग गर्न सक्ने जस्तो स्थिति थिएन । तर अहिले यो एकाएक सहज देखिएको छ । उनले आफ्नो खेलजीवनमा धेरैपल्ट ह्याट्रिक गरेका छन्, त्यो भनेको ६१ पटक ।
त्यसमध्ये आफ्नो देशका लागि गरेको तीन गोलको प्रदर्शन भने ११ पटक हो । विश्वकपको ह्याट्रिकका लागि भने उनले लामै समय कुर्नुपर्यो । मेसीले अल्जेरियालाई हराएर मिडियासामु लामै कुरा गरे । उनले भने, ‘म अहिले असाध्यै खुसी पनि मानिरहेको छु । मेरो जीवनमा जे जस्तो चुनौती आए, त्यसलाई मैले सामना गरें । अहिले म निकै मज्जाले फुटबल खेलिरहेको छु ।’
बुधबारको खेलमा मेसीमात्र होइनन्, चर्चामा रहनेमा फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड पनि रहे । एमबाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले सेनेगललाई ३–१ ले सजिलै हराएको थियो । एमबाीपेले गरेको गोलसंख्या पनि १४ पुगिसकेको छ । अर्कोतर्फ नर्वेले इराकमाथि रचेको ४–१ को जितमा हालान्डले दुई गोल नै गरे । अर्जेन्टिनाको खेल चलिरहेका बेला हालान्डले स्नापच्याटमा लेखे, ‘मेसी अद्वितीय छन् ।’
एमबाप्पे पनि आधुनिक फुटबलले पाएको प्रभावशाली स्ट्राइकर हुन् । उनकै प्रेरणामा फ्रान्सले २०१८ को रुस विश्वकपमा उपाधि जित्नुका साथै कतार २०२२ मा फाइनल पुगेको थियो । कतारमा त फाइनलमा एमबाप्पेले ह्याट्रिक गर्नुका बावजुद फ्रान्स अभागी सावित हुँदा मेसीको अर्जेन्टिना च्याम्पियन बनेको थियो ।
एमबाप्पेको हकमा यो विश्वकपको तेस्रो संस्करण हो । उनले सेनेगलविरुद्ध दुई गोल गरेर गोलसंख्या १४ गोल पुर्याएका छन् । उनले रुसमा ४ गोल र कतारमा ८ गोल गरेका थिए । एमबाप्पे ब्राजिली रोनाल्डोभन्दा एक गोलले पछाडि छन् । चार विश्वकप खेलेका रोनाल्डोले चार विश्वकपमा १५ गोल गरेका थिए ।





























प्रतिक्रिया