किन विवादमा तानिँदैछ फिफा विश्वकपको ‘हाइड्रेसन ब्रेक’ ?

किन विवादमा तानिँदैछ फिफा विश्वकपको ‘हाइड्रेसन ब्रेक’ ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । उत्तर अमेरिकामा जारी विश्वकप फुटबल प्रतियोगिता सुरु भएको एक हप्ता पूरा भइसकेको छ। यस अवधिमा २४ वटा रोमाञ्चक समूह चरणका खेलहरू सम्पन्न भइसकेका छन् भने कुल ७५ गोल भइसकेका छन्। मैदानमा प्रतिस्पर्धात्मक खेलहरू भइरहँदा खेलको नतिजासँगै एउटा विषयले बहसको रूप लिएको छ— त्यो हो खेलको बीचमा दिइने ‘हाइड्रेसन ब्रेक’ ।

यस पटकको विश्वकपमा अत्यधिक गर्मी र ओसिलो (ह्युमिडिटी) मौसमका कारण खेलाडीहरूको स्वास्थ्य रक्षा र कल्याणका लागि भन्दै फिफाले प्रत्येक हाफको बीचमा तीन मिनेटको अनिवार्य ‘हाइड्रेसन ब्रेक’ को व्यवस्था गरेको छ। पहिलो नजरमा यो नियम खेलाडीको हितमा देखिए पनि खेलहरू अगाडि बढ्दै जाँदा यसको चौतर्फी आलोचना र बहस सुरु भएको छ।

नियम अनुसार मौसम अनुकूल वा प्रतिकूल जस्तोसुकै भए पनि हरेक खेलमा यो ब्रेक अनिवार्य गरिएको छ। उदाहरणका लागि, टोरन्टोमा घाना र पानामाबीचको खेल हुँदा त्यहाँको तापमान १९ डिग्री सेल्सियस मात्र थियो, जुन फुटबलका लागि निकै अनुकूल मानिन्छ। त्यस्तै, छाना भएका र तापक्रम नियन्त्रण गर्न मिल्ने रंगशालामा समेत यो नियम लागू गरिएको छ।

यसले गर्दा ९० मिनेटको फुटबल खेल अप्रत्यक्ष रूपमा अमेरिकी खेलहरू जस्तै चारवटा क्वार्टरमा विभाजित हुन पुगेको छ। यस ब्रेकको सबैभन्दा ठूलो फाइदा सामाजिक संजाल र मिडिया कम्पनीहरूले उठाएकाे आराेप छ ।

मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलमा त विज्ञापनका कारण अमेरिकी च्यानलले खेलकै केही मुख्य अंशहरू छुटाएको भन्दै प्रशंसकहरूले व्यापक आक्रोश पोखेका थिए। फुटबल प्रशंसकहरू यसलाई खेलको पवित्रतामाथि व्यावसायिकताको प्रहार मान्छन्।

नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले पनि यसप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, “हरेक पटक खेल रोकेर विज्ञापनमा जानु मलाई त्यति मन परेको छैन। टिभीमा खेल हेरिरहेका तटस्थ दर्शकका लागि पनि यो राम्रो अनुभव होइन।”

यस ब्रेकले विज्ञापनदाताबाहेक अर्को एउटा वर्गलाई पनि फाइदा पुर्‍याएको छ— त्यो हो टोलीका प्रशिक्षकहरू। धेरै प्रशिक्षकहरूले यस समयलाई पानी पिउने बहानामा खेलाडीहरूलाई मैदानको छेउमा बोलाएर रणनीतिक बोर्ड मार्फत नयाँ निर्देशन दिने अवसरको रूपमा प्रयोग गरिरहेका छन्।

बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले स्पष्ट रूपमा भनेका छन्, “मेरो लागि यो कुलिङ ब्रेक मात्र होइन, यो एउटा कोचिङ ब्रेक (रणनीति बनाउने समय) हो। त्यसैले यो मेरो लागि निकै महत्त्वपूर्ण छ।” तर, यसले मैदानमा राम्रो लयमा खेलिरहेका टोलीहरूको गतिलाई भने ठूलो धक्का पुर्‍याएको छ। बुधबार क्रोएसियाविरुद्ध ४-२ को जित निकालेको खेलमा रेफ्रीले हाइड्रेशन ब्रेकको सिट्टी बजाउँदा इंग्ल्याण्डका समर्थकहरूले रंगशालामै असन्तुष्टि जनाउँदै ‘हुटिङ’ गरेका थिए।

Logo