आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै युएई

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै युएई

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।

संयुक्त अरब इमिरेट्समा भइरहेको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत बुधबार भइरहेको पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ ।

आयोजक युएईले अहिले जवाफी ब्याटिङ गर्दैछ । १२ ओभरको खेल भइसक्दा युएईले १ विकेट क्षतिमा ७९ रन बनाइसकेको छ ।

स्थानीय शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर २२१ रनको स्कोर खडा गर्यो । यो स्कोरमा उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरका दुई अर्धशतकीय इनिङको उल्लेखनीय सहयोग रह्यो ।

भेषवाकरले नटआउट ८१ रन बनाएपछि नेपालले टिमस्कोर २०० पार गर्न सकेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न पुगेका भेषवाकरले ९५ बल खेल्ने क्रममा ५ चौका प्रहार गरे ।

टिमस्कोर ४३ हुँदा नेपालले १४।५ ओभरमा १६ रन बनाएका दिलिप नाथलाई पहिलो विकेटका रुपमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो । अर्का ओपनर ज्ञानेन्द्र मल्ल ५४ रनको निजीस्कोरमा एलबीडब्ल्यू आउट भए । उनले ८३ बल खेलेर ६ चौका प्रहार गरेका थिए ।

सधैँ जस्तै चार नम्बरमा खेल्न आएका कप्तान पारस खड्काले २० रन मात्र जोड्न सके । आरिफ शेख खाता नखोल्दै रनआउट हुन पुगे ।

बिनोद भण्डारीले ४ रन मात्र बनाए भने सोमपाल कामीले १९ बलमा ३ चौकाको सहयोगमा २० रनको योगदान गरे । बसन्त रेग्मी १४ रनमा नटआउट रहे ।

युएईका जहुर खानले २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १ र १ विकेट लिए ।

Logo