काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को आधाभन्दा बढी खेल सकिएका छन्। विश्वकपका १ सय ४ मध्ये अहिलेसम्म ६० खेल सकिएका हुन्। समूह चरणको अन्तिम खेल जारी रहँदा नकआउटमा पुग्नका लागि टोलीहरुबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। आइतबार बिहानसम्म समूह चरणका खेल सकिनेछन्।
सोमबारबाट नकआउट चरणका खेल सुरु हुनेछन्। शुक्रबार बिहान समूह ‘एफ’सम्मको खेल सकिएको छ। अब ६ समूहले खेल्न बाँकी छ। यी समूहबाट नकआउटमा भिड्ने आठ टोलीको टुंगो लागिसकेको छ।
नकआउटमा विश्वकप आयोजक क्यानडाले दक्षिण अफ्रिकासँग भिड्नेछ। क्यानडा समूह ‘बी’ र दक्षिण अफ्रिका समूह ‘ए’को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेका हुन्। अर्को खेलमा नेदरल्यान्ड्स र मोरोक्को खेल्नेछन्। डच टोली समूह ‘एफ’को विजेता र मोरोक्को समूह ‘सी’को उपविजेता बन्दै नकआउट पुगे। यी दुई खेलको विजेताले अन्तिम १६ मा भेट गर्नेछन्।
अर्को विश्वकप आयोजक टोली अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनासँग नकआउटमा खेल्नेछ। अमेरिका समूह ‘डी’को विजेता र बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’बाट तेस्रो स्थानमा रहेर नकआउट पुगेको हो।
समूह ‘सी’को विजेता बन्दै नकआउट पुगेको पाँच पटकको च्याम्पियन ब्राजिलले भने जापानसँग खेल्नेछ। जापान समूह ‘एफ’को उपविजेताको रुपमा नकआउट पुगेको हो। नकआउटका खेलहरु सोमबारदेखि सुरु हुनेछ।
अब नकआउटमा भिड्ने १८ टोलीको टुंगो लाग्न बाँकी छ। यसअघि नै जर्मनी, आइभरी कोस्ट, मेक्सिको, अर्जेन्टिना, अष्ट्रेलिया र स्विट्जरल्यान्ड नकआउटमा पुगिसकेका छन्। १२ समूहका शीर्ष २ सँगै तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोली नकआउटमा पुग्नेछन्। उत्कृष्ट तेस्रो स्थानमा रहेर अहिलेसम्म स्विडेन, इक्वेडर र बोस्निया एन्ड हर्जगोभिना नकआउट पुगे।
समान ४ अंक भएको बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’, इक्वेडर समूह ‘ई’ र स्विडेन समूह ‘एफ’को तेसो स्थानमा रहे पनि उत्कृष्ट बन्दै नकआउट पुगेका हुन्। अब उत्कृष्ट तेस्रो बन्न सके ५ टोलीले नकआउट खेल्नेछन्।





























प्रतिक्रिया