काठमाडौं । विश्वकप २०२६ को समूह जे को खेलमा आइतबार अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हराएको छ भने अस्ट्रिया र अल्जेरियाले सनसनीपूर्ण ३–३ को बराबरी खेलेका छन् । बराबरीको नतिजाले अस्ट्रिया र अल्जेरिया दुवै प्रतियोगिताको दोस्रो चरण पुग्न सफल रह्यो ।
अस्ट्रियाले दुई पल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् । सुरुमा उसका लागि मार्को आरनउटोभिचले २८ र मार्सेल सबिट्जरले ५५ औं मिनेटमा एक एक गोल गरे । अल्जेरियाका तर्फबाट भने ४५ औं मिनेटमा रफिक बेलघाडी र ६० औं मिनेटमा रियाद मेहराजले गोल फर्काए ।
मेहराजले दोस्रो हाफका इन्व्ज्युरी समयमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाए । तर खेल यत्तिकैमा रोकिएन् र अस्ट्रियाका लागि सासा कालाडजिचले इन्ज्युरी समयको छैटौं मिनेटमा नाटकिय तेस्रो गोल गरे । अस्ट्रिया चार अंकमा दोस्रो भयो । यस्तै अल्जेरिया भने चार अंकमै तेस्रो रह्यो ।
यस्तै समूहको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले जोर्डनलाई हराएर तीन खेलबाट नौ अंक बटुल्यो र समूहको शीर्षमा रह्यो । अर्जेन्टिना यस अघि नै अर्को चरण पुगिसकेको थियो । जोर्डन भने लगातार तीन हारपछि शून्य अंकमा पुछारमा रह्यो ।
अर्जेन्टिनाले १९ औं मिनेटमा जियोभानी ले सेल्सोले फ्रि किकबाट गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसपछि लउतारो मार्टिनेजले ३१ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । जोर्डनका लागि मुसा अल–तामरीले ५५ औं मिनेटमा एक गोल फर्काए ।
सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेको लियोनल मेसीले ८० औं मिनेटमा गोल गरे । यससँगै यसपल्टको प्रतियोगितामा मेसीको गोल संख्या छ पुगेको छ । उनले लिग चरणका तीनै खेलमा गोल गरेका छन् र सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडि छन् ।





























प्रतिक्रिया