ह्युस्टन । जबसम्म आफ्नो नम्बर एक खेल फुटबल हुँदैन, जापानले कहिल्यै पनि विश्वकप जित्ने छैन। यो भनाइ हो, दाइची कमादाको। जापान विश्वकप २०२६ को अन्तिम ३२ मा ब्राजिलसँग पराजित भएपछि यो भनाइ आएको हो।
एसियाकै सबैभन्दा राम्रो टिम विश्वकप उपाधि जित्ने ठूलो महत्त्कांक्षासहित उत्तर अमेरिका आइपुगेको थियो। तर अहिले जापानको विश्वकप जित्ने सपना धेरै टाढाको साबित भएको छ। जापानले पाँचपल्ट विश्वकपको नकआउट चरण खेलेको छ।
अहिलेसम्म एकै खेलमा पनि जित निकाल्न सकेको छैन। जापानमा फुटबलको तुलनामा बेसबल बढी लोकप्रिय मानिन्छ। कमादा भन्छन्, जापानले फुटबलमा प्रगति गर्ने हो भने यो स्थितिमा सुधार हुनुपर्छ। उनी भन्छन्, ‘विश्वकप जित्ने सपना बोक्ने हो भने जापानको फुटबल स्तर अझ माथिल्लो स्थानमा हुनुपर्छ।’
क्रिस्टल प्यालेसका खेलाडीको तर्क थियो, ‘हामी सबैले जापानको फुटबल विकासमा प्रयास गरिरहनुपर्छ। जति बेलासम्म यो जापानको प्रमुख खेल हुन्न, हामीले विश्वकप जित्न सक्दैनौं।’
जापानले ब्राजिलविरुद्ध पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको थिएन। खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला ब्राजिलका ग्याब्रियल मार्टिनेलीले ९५ औं मिनेटमा निर्णायक गोल गरे। यस जितसँग ब्राजिल प्रतियोगिताको अन्तिम १६ चरणमा पुग्यो भने जापानले भने त्यो प्रश्नको उत्तर खोजेको छ, जसले सोधेको छ, विश्वकप जित्न साँच्चै के गर्नुपर्छ?
जापानी डिफेन्डर सोगो तानिगुची भन्छन्, ‘हामी जसरी हारेका छौं, त्यो असाध्यै निराशाजनक छ। जसरी हामीले यो विश्वकपका लागि तयारी गरेका थियौं, त्यस अनुसार हाम्रो प्रदर्शन अहिलेभन्दा राम्रो हुनुपर्ने हो।’
जापान यसपल्टको विश्वकपमा छनोट हुने पहिलो टिम थियो। यही विश्वकपको तयारीका क्रममा जापानले ब्राजिल र इंग्ल्यान्डलाई पनि हराएको थियो। तर विश्वकप सुरु हुनु नै अगाडि प्रमुख खेलाडी कोउरु मितोमा, ताकुमी मिनामिनो र वातरु इन्डो घाइते भए। लिग चरणमा नेदरल्यान्ड्स र स्विडेनसँग बराबरी खेलेको जापानको लिगको प्रदर्शन राम्रो थियो।
त्यसैले गोलरक्षक जियोन सुजुकी भन्छन्, ‘टिममा अझै सुधारको स्थान छ। हामी अझै पनि खास खास मोडमा कमजोर देखएिका छों। मलाई के लाग्छ जापानी फुटबलमा अझै पनि सुधार आवश्यक छ।’ जापानको ध्यान अब जनवरीमा साउदी अरेबियामा हुने एसिया कपमा मोडिने छ।































