पेनाल्टी शुटआउट : चर्को दबाबको खेल

पेनाल्टी शुटआउट : चर्को दबाबको खेल

केन्द्रबिन्दु
9
Shares

लस एन्जलस । अबको स्थिति विश्वकप २०२६ मा ‘हार्‍यो कि घर जाने’ चरणमा पुगिसकेको छ। यसले प्रत्येक टिममाथि अत्यधिक दबाब सिर्जना गरेको छ। यी सबै प्रकारका दबाबमध्ये सबैभन्दा चर्को रहने गर्छ, टाइब्रेकर। फेरि यो त्यति बेला आवश्यक हुन्छ, जतिबेला खेलाडी थाकेर चुर भइसकेका हुन्छन्। एकातर्फ प्रहार गर्ने खेलाडी, अर्कोतर्फ गोलरक्षक। यो त ‘वान टु वान’ को स्थिति हुने गर्छ।

अहिले प्रतियोगिताको अन्तिम ३२ को चरण चलिरहेको छ। दुई खेल टाइब्रेकरमा गएको छ। त्यसमध्ये एकमा मोरक्कोले नेदरल्यान्ड्सलाई हरायो भने अर्कोमा पाराग्वेले जर्मनीलाई। टाइब्रेकरमा चुक्नुको अर्थ हुन्छ, खेलाडीको हुनसम्मकै अपमान। अनि गोलरक्षकको एक बचाउ कति धेरै महत्त्वपूर्ण हुन्छ भने यसले हजारौं र लाखौं समर्थकमा खुसी ल्याउने गर्छ।

यस्तो पेनाल्टी शुटआउटमा सहनुपर्ने दबाब खासमा गैरमानवीय जस्तै हुन्छ। नर्वेजियन स्कुल अफ स्पोर्ट्स साइन्सका प्रोफेसर गेर जोर्डेटका अनुसार टाइब्रेकरमा पेनाल्टी प्रहार गर्नेमाथि सबैको ध्यान केन्द्रित हुन्छ। उनले टायब्रेकरमै केन्द्रित भएर एउटा पुस्तक पनि लेखेका छन्। उनी भन्छन्, ‘हाम्रो अनुसन्धानले के भन्छ भने पेनाल्टीमा खेलाडीले सामना गर्नुपर्ने दबाब अन्ततः चिन्तामा परिणत हुन्छ।’

अनि जति धेरै पेनाल्टी प्रहार हुन्छ, त्यति धेरै दबाब बढ्नै जान्छ। जति धेरै दबाब बढ्छ, चिन्ता झन् बढी हुन्छ। सन् २०२२ को विश्वकपमा ५ खेलको निर्णय टाइब्रेकरमा भएको थियो। त्यसमध्ये सबैभन्दा ठूलो खेल त फाइनल नै थियो, जसमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको थियो। इंग्लिस विंगर नोनी माडुके भन्छन्, ‘माथिल्लो स्तरमा टाइब्रेकरमा दबाब वास्तवमै असह्य खालकै हुन्छ।’

प्रहारकर्ता र गोलरक्षकबीचको दूरी लगभग १२ यार्ड हुन्छ। सन् १९७० देखि मात्र पेनाल्टी शुटआउटको नियम आएको हो र त्यसयता विश्व फुटबलको ठुल्ठूला खास खेलको निर्णय यसैबाट भएको छ। पेनाल्टी शुटआउटमा निर्णय भएको पहिलो विश्वकप फाइनल थियो, सन् १९९४ को। त्यसमा ब्राजिलले इटालीलाई हराएर विश्वकप जितेको थियो।

त्यसमा एक खेलाडी पेनाल्टीमा चुके र यही एक कारण नै उनको परिचय बन्यो। ती खेलाडी थिए, रोबर्टो बाजियो। उनको अन्तिम र निर्णायक साबित प्रहार पोस्टमा लागेको थियो। रमाइलो के भने यही एक पेनाल्टी प्रहार पनि फरक–फरक तरिका छन्। कोही तुरुन्तै प्रहार गर्छन्, कोही रोकिएर प्रहार गर्छन्। कसैले बल प्रहार अगाडि लामो न लामो श्वासभित्र लिन्छन्।

अझ केही लामो दौड लगाएर पनि शक्तिशाली प्रहार गर्छन्। सायद सबैभन्दा लोकप्रियचाहिँ विपक्षी गोलरक्षकले कतातिर ‘डाइभ’ गर्छ भनेर अनुमान गर्ने र त्यसको विपरीत प्रहार गर्ने। पेनाल्टी प्रहारको स्थितिमा धेरै हदसम्म गोलरक्षकभन्दा उनको अगाडि रहेका खेलाडी नै बढी दबाबमा हुने गर्छ। यस्तो किनभन्दा गोलरक्षकले बचाउभन्दा प्रहार गर्नेले गोल गर्ने बढी अपेक्षा हुन्छ।

अनुसन्धानले के देखाएको छ भने रेफ्रीको सिटी बजेलगत्तै प्रहार गर्नेभन्दा केही सेकेन्ड रोकेर प्रहार गर्नेले गोल गर्ने सम्भावना बढी हुन्छ। जोर्डेट भन्छन्, ‘तुरुन्तै छिट्टै प्रहार गर्ने खेलाडी खासमा धेरै दबाब सहन नसक्ने खालको हुन्छ, त्यसैले उनले खासै धेरै सोच्ने काम गर्दैन र प्रहार गरिहाल्छ।’

सिद्धान्ततः त्यही खेलाडी टाइब्रेकरमा सफल हुन्छ, जसले छोटो समयमा ठीक निर्णय गर्छ। दुविधा कुनै पनि हालतमा ठीक हुन्न। अर्कोतर्फ गोलरक्षकको मानसिकता कस्तो हुने गर्छ त? गोलरक्षकसामु दायाँ वा बायाँ डाइभ गर्ने या केही नगरेर बीचमा उभिरहने अवसर हुन्छ। नेदरल्यान्ड्सविरुद्ध मोरक्कोको गोलरक्षक यासिन बोनोउले भने अलि फरक गरे, अन्तिम प्रहारमा। उनी उभिरहे तर हल्का दायाँतर्फ केही ढल्के। त्यसै क्रममा उनले क्रिसेन्को सुमेरभलीको प्रहार जोगाए। एपीबाट

Logo