इजिप्टका टोली निर्देशक र सुरक्षाकर्मीबीच किन भयो धकेलाधकेल ?

इजिप्टका टोली निर्देशक र सुरक्षाकर्मीबीच किन भयो धकेलाधकेल ?

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को खेलका लागि अमेरिका आइपुगेको इजिप्टको राष्ट्रिय फुटबल टोलीका निर्देशक इब्राहिम हसन र डलासस्थित होटलका सुरक्षाकर्मीबीच धकेलाधकेल भएकाे छ।

अस्ट्रेलियाविरुद्धको महत्त्वपूर्ण खेलको तयारीका लागि बिहीबार बिहान इजिप्टको टोली डलास पुगेको थियो। टोली बसेको होटलमा समर्थकहरूसँगको व्यवहारलाई लिएर उक्त विवाद उत्पन्न भएको हो।

सामाजिक सञ्जालमा भाइरल भिडियो र टोली स्रोतका अनुसार, होटल बाहिर इजिप्टका समर्थकहरू—जसमा धेरैजसो साना बालबालिका थिए, आफ्ना मनपर्ने खेलाडीहरूको अटोग्राफ र तस्बिर लिन जम्मा भएका थिए। इजिप्टका स्टार खेलाडी ट्रेजेगुएटले एक युवा प्रशंसकसँग सेल्फी खिचिरहेका बेला टोली निर्देशक इब्राहिम हसन पनि उनीहरूसँगै उभिएका थिए।

सोही क्रममा होटलका सुरक्षाकर्मीले प्रशंसकहरूलाई आक्रामक रूपमा हटाउन खोजेपछि ५९ वर्षीय हसनले सुरक्षाकर्मीको सो कठोर व्यवहारप्रति आपत्ति जनाएका थिए। स्थिति तब थप बिग्रियो जब एक अमेरिकी सुरक्षा अधिकारीले हसनलाई समातेर पछाडि धकेले। त्यसपछि सुरक्षाकर्मीले “ब्याक अफ” भन्दै चिच्याएपछि इजिप्टका अन्य खेलाडी र स्टाफहरू पनि आफ्ना निर्देशकको बचाउमा उत्रिएका थिए। उक्त घम्साघम्सीपछि इजिप्टको टोलीलाई त्यहाँबाट सुरक्षित भित्र लगिएको थियो।

इब्राहिम हसन इजिप्टका लेजेन्ड खेलाडी हुन्, जसले देशका लागि १३१ खेल खेलिसकेका छन्। उनका जुम्ल्याहा भाइ होसाम हसन हाल इजिप्टको विश्वकप टोलीका मुख्य प्रशिक्षक हुन्।

समूह ‘जी’ मा बेल्जियम र इरानसँग बराबरी तथा न्युजिल्यान्डलाई पराजित गर्दै इजिप्ट उपविजेताको रूपमा नकआउट चरणमा पुगेको हो। अब इजिप्टले राउन्ड अफ ३२ मा अस्ट्रेलियाको सामना गर्नेछ र यो खेल जित्ने टोलीले अर्को चरणमा अर्जेन्टिना वा केप भर्डेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

Logo