काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलीयन रेफ्री राफाएल क्लाउसको निष्पक्षतामाथि प्रश्न उठाएपछि फिफाले उनको खुलेर समर्थन गरेको छ ।
अमेरिकी स्ट्राइकर फोलारिन बालोगनलाई विश्वकपको राउन्ड अफ ३२ मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध रातो कार्ड देखाइएको घटनापछि विवाद चुलिएको थियो । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को समीक्षापछि क्लाउसले तारिक मुहरेमोभिचको खुट्टामा बालोगनले बुटले प्रहार गरेको निष्कर्ष निकाल्दै उनलाई रातो कार्ड दिएका थिए ।
यद्यपि, फिफाले पछि बालोगनमाथिको एक खेलको प्रतिबन्ध स्थगित गरेको थियो । त्यसपछि ट्रम्पले निर्णय पुनरावलोकन गर्न आफूले आग्रह गरेको खुलासा गर्दै क्लाउसलाई ‘उनको विगत हेर्दा केही शंकास्पद देखिने’ व्यक्ति भनेका थिए । उनले आफ्नो आरोपको थप आधार भने सार्वजनिक गरेका थिएनन् ।
फिफाले सोमबार जारी गरेको विज्ञप्तिमा राफाएल क्लाउस विश्वका उत्कृष्ट व्यावसायिक रेफ्रीमध्ये एक रहेको उल्लेख गर्दै उनीप्रति संगठनको पूर्ण विश्वास रहेको जनाएको छ । फिफाले भनेको छ, ‘राफाएल क्लाउस फिफाको उत्कृष्ट रेफ्री समूह ‘टिम वन’का महत्वपूर्ण सदस्य हुन् । आफ्नो करिअरभर उनले व्यावसायिकता र इमानदारीको उच्च मापदण्ड कायम गरेका छन् ।’
फिफाले प्रतियोगिताका क्रममा रेफ्रीहरूले सञ्चारमाध्यमसँग कुरा नगर्ने नीतिअनुसार क्लाउसले यस विषयमा कुनै प्रतिक्रिया नदिने पनि स्पष्ट पारेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि रेफ्रीको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हामीले रेफ्री र खेलका नियमको सम्मान गर्नैपर्छ । यो अत्यन्त सरल कुरा हो, तर बारम्बार दोहोर्याउनुपर्ने विषय पनि हो । रेफ्रीबिना फुटबल सम्भव छैन,’ उनले भने । फिफाका प्रमुख रेफ्री अधिकारी तथा रेफ्री समिति अध्यक्ष पियरलुइजी कोलिनाले पनि ४६ वर्षीय क्लाउसको प्रशंसा गर्दै उनी अनुभवी र विश्वसनीय रेफ्री भएको बताए ।
‘राफाएल क्लाउस दोस्रो पटक फिफा विश्वकपमा रेफ्रीको जिम्मेवारी निभाइरहेका छन् । उनी सन् २०२२ को कतार विश्वकपमा पनि रेफ्री थिए,’ कोलिनाले भने । उनले क्लाउसले आफ्नो करिअरमा ६०० भन्दा बढी खेल सञ्चालन गरिसकेको उल्लेख गर्दै फिफाको उनीमाथि पूर्ण विश्वास रहेको बताए ।
फिफाले बालोगनमाथिको प्रतिबन्ध स्थगित गरेपछि उनी बेल्जियमविरुद्धको अन्तिम–१६ को खेलमा अमेरिकाको सुरुआती टोलीमा समावेश भएका थिए । यद्यपि, अमेरिका बेल्जियमसँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।






























