फिफा विश्वकपमा क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ अबको खेल तालिका

फिफा विश्वकपमा क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ अबको खेल तालिका

केन्द्रबिन्दु
15
Shares

काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ ।

क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टिम मात्र पुगेका छन् । कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।
साविक विजेता अर्जेन्टिनासहित पुर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् । अब एक दिनको ब्रेकपछि क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।

क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र २०२२ को सेमिफाइनलिस्ट मोरक्कोबीच हुनेछ । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा भिडेका थिए । जहाँ फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यस पटक त्यस खेलको रिम्याच जस्तै हुनेछ ।

यस्तै सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दषिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

यसैगरी पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्डले भने त्यसयता फाइनल समेत पुग्न सकेको छैन ।

यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्ड अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । १९औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ र ६४ वर्षपछि विश्वकपको उपाधपि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
क्वाटरफाइनल खेल:

क्वाटरफाइनल खेलहरु फ्रान्स भर्सेस मोरक्कोबीच असार २६ गते विहान १:४५ बजे बोस्टन स्टेडियममा, स्पेन भर्सेस बेल्जियमबीच असार २७ गते विहान १२:४५ बजे लस एन्जल स्टेडियममा, नर्वे भर्सेस इंग्ल्यान्डबीच असार २८ गते विहान २:४५ बजे मायमी स्टेडियममा र अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्डबीच असार २८ गते विहान ६:४५ बजे कान्सास सिटी स्टेडियममा हुनेछ ।

Logo