काठमाडौं । मिकेल मेरिनोले दोस्रो हाफको अन्त्यतिर गरेको गोल मद्दतले स्पेनले विश्वकप २०२६ मा शनिबार बेल्जियमलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । अब अन्तिम चारको खेलमा स्पेनले फ्रान्सको सामना गर्नेछ ।
लस एन्जलसमा भएको खेलमा स्पेनले ३० औं मिनेटमा फाबिन रुइजको गोलले अग्रता लिएको थियो । पहिलो हाफको ४१ औं मिनेटमै चाल्सै डे केटेलेरले बेल्जियमका लागि बराबरी गोल फर्काए । यो नै प्रतियोगितामा स्पेनले खाएको पहिलो गोल रह्यो ।
निर्धारित समयको खेल बराबरीमा टुंगिन लागेका बेला ८८ औं मिनेटमा बेल्जियमका गोलरक्षक सेने लामेन्सको भुलमा मेरिनोले निर्णायक गोल गरे र यो नै स्पेनको जितका लागि पर्याप्त रह्यो । हारसँगै प्रतियोगितामा बेल्जिमयको चुनौती समाप्त भएको छ ।






























