काठमाडौं ।
भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन् । नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ ।
नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जितिन् । उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गरेकी प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए। इन्डोनेसिया र भारतका खेलाडी तेस्रो भए ।
यस्तै पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जिते । उनले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गरेका थिए । क्युबा र ब्राजिलका खेलाडी तेस्रो भए ।
यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरे। सो स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५ दशमलव ३५ अंकसहित स्वर्ण जितिन् । रुस र ब्राजिलका खेलाडी तेस्रो भए ।
यसैगरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरे। सो स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गरे। विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे ।रासस





























प्रतिक्रिया