प्रधानमन्त्री कप भलिबल: पुलिस र आर्मीको विजयी सुरुवात

प्रधानमन्त्री कप भलिबल: पुलिस र आर्मीको विजयी सुरुवात


सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ । खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लवले विजयी सुरुवात गरेको छ । 

‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ फागुन २१–२५ सम्म नेपालगञ्ज रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लव र न्यू डायमण्ड क्लवलाई ३–२ को सेटमा जित हासिल गरेको छ ।

उद्घाटन खेलको पहिलो, तेस्रो, र पाँचौ सेटमा नेपाल पुलिस क्लवले न्यू डायमण्ड क्लवलाई क्रमश २५–१९, २५–१९ र १५–८ ले पराजित गर्दा न्यू डायमण्डले नेपाल पुलिस क्लवलाई दोस्रो र चौथो सेटमा क्रमशः २८–२६ र २५–१७ ले पराजित गरे पनि आफ्नो पक्षमा जित निकाल्न सकेन । जितपछि पुलिसको २ तथा पराजित डायमन्डको १ अंक भएको छ ।  

यसैबीच, दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले स्थानीय लुम्बिनी युनाइटेड टिमलाई २८–८, २५–८ र २५–७ को सोझो सेटमा जित निकाल्यो । यो जितसँगै आर्मीको ३ अंक पुगेको छ । पराजित लुम्बिनीको शुन्य अंक छ । आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच चुनिइन् । 

लिगमा शनिबार दुई खेल हुनेछ । दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब लुम्बिनी युनाइटेड टिमबीच ३ बजे प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको शीर्षस्थानमा रहने टोली लिगका च्याम्पियन बन्नेछ । 

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड र लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई रु ५ लाख, दोस्रो हुनेलाई रु दुई लाख, तेस्रो हुनेलाई रु १ लाख र चौथो हुनेलाई रु ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । गतवर्ष प्रथम पुरस्कार रु दुई लाखको रहेको थियो । प्रतियोगिताको पहिलो संस्करण नेपाल पुलिस क्लव, दोस्रो नेपाल एपिएफ, तेस्रो र चौथोमा भारतको रेलवे ईण्डिया पाँचौमा एपिएफ र छैठौंमा पुलिसले विजय हासिल गरेका थिए । 

Logo