मेयर्सकप पुरुष क्रिकेट : बागमतीलाई पहिलो सफलता

मेयर्सकप पुरुष क्रिकेट : बागमतीलाई पहिलो सफलता

केन्द्रबिन्दु
0
Shares

सोनु देवकोटाको कसिलो बलिङको मद्दतमा बागमती प्रदेशले राजधानीमा जारी मेयर्सकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले एपिएफलाई २७ रनले पराजित गरेर जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रन मात्र जोड्न सक्यो ।

एपिएफका ओपनर आसिफ शेखले सर्वाधिक ५० रन जोड्दा  शंकर रानाले २९, अमरसिंह रौटेलाले २७ र सन्दिप जोराले २५ रनको योगदान गरे । बाग्मतीलाई प्रतियोगितामा पहिलो जीत दिलाउने क्रममा सोनु देवकोटाको ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले नन्दन यादवको अविजित ६० र कप्तान ज्ञानेन्द्र मल्लको ५७ रन मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ३३ रनको योगफल तयार पारेको थियो । एपिएफका किशोर महतो र अमरले समान २ विकेट लिएका थिए। त्यस्तै वसन्त रेग्मी र अविनाश बोहोराको नाममा समान १ विकेट रह्यो।

सहाब आलमले ७ विकेट लिएपनि त्रिभुवन आर्मी क्लबले मंगलबार नेपाल पुलिस क्लबसँग ३ विकेटले निराश भएको छ । मूलपानी मैदानमा आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउदै पूरा गरेको थियो ।पुलिसका ओपनर सुनिल धमलाले सर्वाधिक ३९ रन जोड्दा पवन शराफले अविजित २२ र दिलिप नाथले १५ रनको योगदान गरे । सुनिलले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा दिलिपले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । पवनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

८८ रनको लक्ष्य पछ्याएको पुलिसका ब्याटस्म्यानलाई आलमले दबाबमा राखेका थिए । ७ रन जोड्दा पुलिसले कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो। दोस्रो विकेटका लागि सुनिल र दिलिपले ४१ रनको साझेदारीका साथ पुलिसलाई सहज जीत दिलाउने संकेत गरेका थिए । तर नवौ ओभरको अन्तिम बलमा दिलिपनाथ, दशौं ओभरको पहिलो र अन्तिम बलमा क्रमशः अनिल शाह र अमित श्रेष्ठलाई गुमाएपछि पुलिस दबाबमा परेको थियो । त्यसपछि ब्याटिङका लागि आएका कप्तान दिपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन् । सातौ विकेटका लागि धमला र पवनले २६ रनको साझेदारीका साथ पुलिसको सहज जीत पक्का गरेका थिए।

पुलिसविरुद्ध आलम एक्लैले ७ विकेट लिए पनि आर्मीको हार भने टार्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी पुलिसका बलरसामु निहिर देख्दा ३०।१ ओभरमा मत्र ८७ रनमा सीमित भएको थियो । 

आर्मीका लोकेश बमले सर्वाधिक ३२ रन जोड्दा बिक्रम सोबले १४ र रोहित पौडेलले १३ ले रनको योगदान गरे । अन्य कुनै पनि ब्याटस्म्यानले दोहारो अंक छुन सकेनन्। पुलिसका सागरले ५, पवनले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए।

Logo