मेयर कप क्रिकेट : एपिएफ फाइनलमा प्रवेश

मेयर कप क्रिकेट : एपिएफ फाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

विभागीय टोली एपिएफ काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

एपिएफले काठमाडौं ११ लाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । यस अघि पुलिसको ४ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको थियो  । एपिएफले पनि ४ खेलमा ६ अंक जोडेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो। बाग्मती ४ अंकका साथ तेस्रो स्थानमा रहँदा आर्मी र मेयर ११ समान २ अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानमा रहे। मेयर ११ ले प्रस्तुत गरेको १ सय ७८ को लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईको यात्रा सम्भव भएको थियो।

१ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएसँगै एपिएफले सुखद् सुरुआत भने गर्न सकेन। आसिफलाई पहिलो ओभरको अन्तिम बलमा अनुज चुनाराले बोल्ड गरेका थिए। दोस्रो विकेटका लागि अर्को ओपनर शंकर राना र कप्तान शरद भेषवाकरले ४३ रनको साझेदारी गर्दै एपिएफको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। शंकरले अनिल खरेलबाट एल्बीडब्लुको शिकार हुनु अघि ४९ बलमा ५ चौका मद्दतमा ३१ रन जोडे ।

शंकर पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका भुवन कार्कीले पनि मात्र ११ रन जोडे । भुवनलाई मेयर ११ का कप्तान सन्दिप लामिछानेले बोल्ड गरेका थिए । चौथो विकेटका लागि शरद र सन्दिप जोराले अविजित १ सय २१ रनको साझेदारीका साथ एपिएफको फाइनल यात्रा पक्का गरेका थिए। शरदले १ सय १८ बलमा ५ चौका र १ छक्का मद्दतमा अविजित ६१ रनको योगदान गर्दा सन्दिप जोराले ७९ बलमा ९ चौका मद्दतमा अविजित ६२ रनको योगदान गरे । मेयर ११ का सन्दिप, अनुज र अनिलले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७७ रनको योगफल तयार पारेको थियो । मेयर ११ का लागि सन्दिप रजाइलीले सर्वाधिक ४८ रनको योगदान गर्दा हरिशंकर शाहले ३६ र विक्रम भुषालले २० रन जोडे । एपिएफका अविनाश बोहोरा र कमलसिंह ऐरीले समान ३ विकेट लिएका थिए । भुवन कार्की,शरद र वसन्त रेग्मीले  समान १ विकेट लिएका थिए।

बिहीबार नै भएको अर्को खेलमा बाग्मती प्रदेशले प्रतियोगितामा सुखद अन्त्य गर्ने क्रममा आर्मीलाई १० रनले हराएको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउँदै २ सय ५६ रन मात्र जोड्न सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले १ सय १९ रन जोडे पनि टोलीको हार भने टार्न सकेनन् । ओपनर लोकेश बमले ४६ रन जोडे भने करण केसीले २४ रन जोडे। विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए । 

बाग्मतीका ओरियो पौडेलले ५ विकेट लिए भने रामनरेश गिरीले १ तथा नन्दन यादव, सोनु देवकोटा र पारसले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउदै २ सय ६६ रनको योगफल तयार पारेको थियो । बाग्मतीका लागि पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्कको मद्दतमा १ सय १९ रन प्रहार गरे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए।

Logo