काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले पाँच लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ। टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जीतका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । १०६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । 

पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए। उनले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गरे। यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाए। बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एक, एक विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो । एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शङ्कर राना चार रनमा तथा आसिफ शेख र शरद भेषवाकरबिना कुनै रन पेभेलियन फर्किए। 

यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए। बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार/चार विकेट लिए। यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिए । प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।

Logo