नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट लिग सोमबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलोपटक नेपालगञ्ज रंगशालामा प्रतियोगिता हुन लागेको एन्फाले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । चित्रकारका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिगको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट), बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् । चैत १५ गतेसम्म चल्ने लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।































प्रतिक्रिया