ललितपुर सिटी एफसीको टिम र जर्सी सार्वजनिक

ललितपुर सिटी एफसीको टिम र जर्सी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले आफ्नो टिम सार्वजनिक गरेको छ। ललितपुर सिटीले मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईलाई नियुक्त गरेको छ । हुमागाईसँग ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबको नेतृत्व गरिसकेको अनुभव रहेको छ । घरेलु फुटबलसहित युरोपेली फुटबलको अनुभव बटुलिसकेका हुमागाईको नेतृत्वमा क्लबले राम्रो नतिजा निकाल्नेमा क्लब विश्वस्त रहेको जनाएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै ललितपुर सिटीले हुमागाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। यस्तै ललितपुर सिटी एफसीले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ। ललितपुरका टिम मालिक कामना गुरुङ, मुख्य प्रशिक्षक प्रदिप हुमागाई लगायतले जर्सी सार्वजनिक गरेका थिए।

खेलाडीमा ललितपुरले अक्सनबाट मिक्छेन तामाङ, नविन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना मगर, रोहित कार्की, सरोज योन्जन, रन्जन विष्ट, निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी र अर्पन कार्कीलाई टिममा आबद्ध गरेको थियो।  यस्तै ललितपुरले यस अघि नै राष्ट्रिय टिमका सदस्य अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ। 

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ।

Logo