कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

केन्द्रबिन्दु
0
Shares

नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन्। रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो। 

भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन्। उनी अहिले ९३ औँ स्थानमा रहेका छन्। भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन्। उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन्। 

भुर्तेलले नेदरल्याण्डसँगको खेलमा दुई तथा मलेसियासँगको खेलमा एउटा अर्धशतक बनाएका थिए। नेदरल्याण्ड्सँगको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासँगको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससँगको खेलमा ६२ रन बनाएका थिए। 

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन्। उनी यसअघिको बरियतामा ७३औँ स्थानमा थिए। अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिज खेल्नबाट वञ्चित भएका छन्। 

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७औँ स्थानमा रहेका छन्। उनी यसअघि ८४औँ स्थानमा रहेका थिए। हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन्। उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए। योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन्। टी–२० क्रिकेटमा उनले हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन्। 

यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो। उनले ३१ खेलमा ४१ विकेट लिएका छन्।रासस

Skip This
Skip This
Logo