युरोकपः आज इंग्ल्याण्ड र क्रोएसिया भिड्दै, यस्तो छ खेलको आँकलन

युरोकपः आज इंग्ल्याण्ड र क्रोएसिया भिड्दै, यस्तो छ खेलको आँकलन

केन्द्रबिन्दु
0
Shares

नेपाली समय अनसार आज बेलुका ६ः४५ मा इंग्ल्याण्ड र क्रोएसिया युरोकपको समूह चरण अन्तर्गत ‘समूह डी’ को पहिलो खेलमा भिड्दैछन्। 

कसले जित्छ भन्नेमा दर्शकको अपेक्षाभन्दा टिमहरूको खेल्दै गर्दाको फर्म नै निर्णायक हुने भए पनि दर्शकहरूको अपेक्षा कतै न कतै टिमहरूको प्रदर्शनबाट पनि प्रभावित हुने गर्छ। युरोकप आयोजक यूएफाले गरेको अनलाइन पोलमा बिहान १० बजेसम्ममा ७५ प्रतिशतले इंग्ल्याण्डले जित्ने अपेक्षा राखेका थिए भने १७ प्रतिशत मात्रैले क्रोएसियाको पक्ष लिएका थिए। ८ प्रतिशतले भने बराबरीको खेल अपेक्षा गरिरहेका छन्। यसरी हेर्दा दर्शकहरू इंग्ल्याण्डले जित्छ भन्नेमा बढी ढुक्क देखिन्छन्। 

इंग्ल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा हुन गइरहेको उक्त खेलमा इंग्ल्याण्डलाई घरेलु मैदानले उर्जा अवश्य दिनेछ। घरेलु मैदानमा इंग्ल्याण्डले खेलेका पछिल्ला २२ खेलमध्ये १८ खेल अर्थात ८२ प्रतिशतमा विजय हासिल गरेको छ। क्रोएसियाले घरबाहिर खेलेको पछिल्ला २१ खेलमध्ये ५ खेल अर्थात २४ प्रतिशत खेल मात्रै जित्न सफल भएको छ। साथै युरोकप सुरु हुनुभन्दा अगाडिका खेलहरूमा इंग्ल्याण्डले पाएको सफलताले त्यस उर्जालाई झन बढाउने देखिन्छ। पछिल्ला ६ खेलमा इंग्ल्याण्ड अविजित रहेको छ। 

ती खेलहरूमा इंग्ल्याण्डले १५ गोल गर्दै गर्दा अरू टिमले इंग्ल्याण्डविरूद्ध १ गोल मात्र गर्न सफल भए। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उपविजेता बनेको क्रोएसिया पछिल्लो समय भने खासै राम्रो फर्ममा छैन। पछिल्ला ६ मध्ये २ खेलमा विजय हासिल गरेको क्रोएसियाले ३ खेलमा हार ब्यहोर्नु पर्याे भने १ खेल बराबरीमा सीमित राख्यो। पछिल्ला ६ खेलमा ७ गोल गरेको क्रोएसियाले विपक्षी टिमहरूको ६ गोलको सामना गर्नुपरेको थियो।

सन् २०१८ को विश्वकपमा इंग्ल्याण्डलाई सेमिफाइनलमा हराएर फाइनल प्रवेश गरेको क्रोएसियासँगको खेललाई इंग्ल्याण्डले विशेष सतर्कतासहित खेल्नेछ। क्रोएसियाका डिफेन्स सम्हाल्ने डेयान लोभ्रन पछिल्लो समयको चोटपटकबाट साधारण स्थितिमा फर्किनसकेकाले इंग्ल्याण्डका लागि आक्रामक हुन सहज हुने देखिएको छ। इंग्ल्याण्डको आक्रमण सम्हाल्न क्रोएसियाका डोमागोय भिडा र दुये चालेता–चारले कडै मेहनत गर्नुपर्ने देखिन्छ।

अहिलेसम्म अन्तर्राष्ट्रिय मञ्चमा इंग्ल्याण्ड र क्रोएसिया ९ पटक भिड्दा ५ पटक इंग्ल्याण्डले जितेको, ३ पटक क्रोएसियाले जितेको र १ पटक बराबरीमा खेल टुंगिएको इतिहास छ। 

यी दुई टिमको अहिलेको फर्मलाई मध्यनजर गर्दै इंग्लाण्डले क्रोएसियालाई २–१ ले हराउने आँकलन स्पोर्ट्स मोलले गरेको छ। त्यस्तै ‘फुटबल प्रेडिक्सन्स डट नेट’ ले पनि इंग्ल्याण्ड नै विजयी हुने बताएको छ। इंग्ल्याण्डले वेम्ब्लीमा खेलेको कुनै पनि ठूलो खेल नहारेको भए पनि युरोकपको पहिलो खेलमा इंग्ल्याण्डले ९ संस्करणमा हार ब्यहोरेको छ। जित्नका लागि इंग्ल्याण्डले यो प्रतिकुलतालाई चिर्नु पर्नेछ।

Skip This
Skip This
Logo