युरोकपमा आज भिड्ने जर्मनी र फ्रान्समध्ये कसले जित्ला?, यस्तो छ सम्भावित परिणाम

युरोकपमा आज भिड्ने जर्मनी र फ्रान्समध्ये कसले जित्ला?, यस्तो छ सम्भावित परिणाम


आज युरोकपको समूह चरण अन्तर्गत ‘समूह एफ’ का जर्मनी र फ्रान्स भिड्ने भएका छन्। जर्मनीको म्युनिखस्थित ‘फुटबल एरेना म्युनिख’ मा नेपाली समय अनुसार १२ः४५ मा खेल सुरु हुँदैछ।

२०१८ को विश्वकप विजेता फ्रान्स र २०१४ को विश्वकप विजेता जर्मनी विश्व फुटबल जगतका पुराना प्रतिस्पर्धीहरू हुन्। फ्रान्स र जर्मनीबीचको फुटबल ‘राइभल्री’ लाई दुई देशबीचको सामरिक इतिहाससँग पनि जोडेर हेर्ने गरिन्छ। सन् १८७० मा प्रसिया (हालको जर्मनी अन्तर्गतको एक राज्य) को सेनाले फ्रान्सको राजधानी पेरिसमाथि कब्जा जमाएपछि पहिलो विश्वयुद्धका लागि पृष्ठभूमि तयार भएको मानिन्छ। युद्ध मैदानमा झैँ जित्नका लागि प्राकृतिक दबाब दुई कडा प्रतिद्वन्दी टिममा खेलाडीहरूमाथि बढी नै हुने निश्चित छ। 

पिएसजी स्टार २२ वर्षिय काइलियन एम्बाप्पे, रियल मड्रिडका अनुभवी स्ट्राइकर करिम बेन्जेमाको फ्रान्सलाई उपाधीको दाबेदारका रूपमा हेरिएको भए पनि थोमस मुलर र टोनी क्रुज जस्ता हस्तिहरूका साथै सन् २०१४ मा जर्मनीलाई विश्वकप जिताउने कप्तान तथा अनुभवी गोलरक्षक म्यानुयल नुयर रहेको टिमलाई कम आँक्न भने सकिँदैन।

२०१६ को युरोकपमा फाइनलसम्मको यात्रा तय गरेको फ्रान्सलाई पोर्चुगलले १–० ले पराजित गरे पनि २०१८ को विश्वकप जितेर आफ्नो क्षमता देखाउन सफल भयो।   

जर्मनी घरेलु मैदानको फाइदा उठाउने मनस्थितिमा भए पनि फ्रान्सले सन् १९६० यता कुनै पनि टुर्नामेन्टको पहिलो खेल हारेको छैन। जर्मनीले चार पटक विश्वकप र तीन पटक युरोकप जित्दै गर्दा दुई पटक विश्वकप र दुई पटक युरोकप जितेको फ्रान्स पछिल्लो समयको अब्बल प्रदर्शनका कारण यसपालीको युरोकपकै दाबेदार मानिएको छ। 

दुवै टिमको पछिल्ला ५ खेलको फर्म तुलना गर्ने हो भने पनि फ्रान्स नै बलियो स्थानमा छ। पछिल्ला ५ खेलमध्ये ४ खेल जितेको फ्रान्सले एक खेल भने बराबरीमा टुङ्ग्यायो। त्यस्तै पछिल्ला ५ खेलमध्ये ३ खेल जितेको जर्मनीले १ खेल हार्दा १ खेल भने बराबरीमा टुङ्ग्याएको थियो। फ्रान्स र जर्मनीबीच भएका पछिल्ला ५ खेलमध्ये फ्रान्स ५ वटामै विजयी भएको छ। फ्रान्स र जर्मनीको सबैभन्दा पछिल्लो भेट २०१८ को अक्टोबरमा युएफा नेसन्स लिगमा भएको थियो। उक्त खेलमा फ्रान्सले जर्मनीलाई २–१ को अन्तरले हराएको थियो।   

त्यस्तै एक महिनाअघि नर्थ म्यासेडोनियाले जर्मनीलाई विश्वकप छनौट चरणको खेलमा आश्चर्यजनक २–१ को अन्तरले हराएको थियो। त्यो जर्मनीका लागि पछिल्लो २० वर्षमा घरेलु मैदानमा भएको विश्वकप छनौट खेलमा पहिलो हार थियो। म्युनिखस्थित घरेलु मैदानमा फ्रान्ससँग भिड्न गइरहेको भए पनि कम्जोर फर्ममा रहेको जर्मनीका लागि जित्न घरेलु मैदान मात्र काफी हुने छैन।

‘स्पोर्ट्स मोल’ ले यस खेलमा फ्रान्सले जर्मनीलाई १–० को अन्तरले हराउने आँकलन गरेको छ। 

Logo