साविक विजेता पोर्चुगलमाथि जर्मनीको सानदार जीत

साविक विजेता पोर्चुगलमाथि जर्मनीको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जीत निकालेको छ। शनिबार राति म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

एलिनाज स्टेडियममा जर्मनीले दुई आत्मघाती गोल उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका हुन्। यस्तै जर्मनीलाई जीत दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे।

पोर्चुगलका लागि भने कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए।

निकै रोमान्चक बनेको खेलमा जर्मनीविरुद्ध रोनाल्डोको यो पहिलो गोलसमेत हो। यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तर्राष्ट्रिय गोल हो। जारी युरोकपमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो।

यता समूह एफमा रहेको जर्मनीको यो पहिलो जीत हो। दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो।

पोर्चुगलको भने यो पहिलो हार हो। पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो। समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ। यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ। १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ।

Logo