जारी १६ औं संस्करणको युरोकप फुटबलमा इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। आइतबार राति रोमको ओलम्पिक स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह ए को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
१० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जीत दिलाउन खेलको ३९ औं मिनेटमा माटियो पेसीनाले निर्णायक गोल गरे । खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
इटालीविरुद्ध वेल्सले पनि गोलको केही अवसर सिर्जना भने गरेको थियो । तर, गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो।
जीतसँगै समूह ए को इटालीले समूह चरणमा शतप्रतिशत जीत निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोडेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्वीट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
यता, वेल्स इटालीसँग पराजित भएपनि उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रह्यो । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।





























प्रतिक्रिया