युरोकपमा आज दुई खेल हुने, इङ्ल्यान्डलाई चेक रिपब्लिकको चुनौती

युरोकपमा आज दुई खेल हुने, इङ्ल्यान्डलाई चेक रिपब्लिकको चुनौती

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरण अन्तर्गत आज (मंगलबार) समूह डी का दुई खेलहरु हुँदैछन् । युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज राति इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो।  

इङ्ल्यान्डले आफ्नो घरेलु मैदान वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज इङ्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ।

इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । इङ्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउने छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनु पर्नेछ । पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो।

यता, चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेक रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ। बराबरीले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा गर्नेछ । पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

यस्तै आजै हुने समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्नेछन् । दुई टिमबीचको खेल पनि राति १२ः४५ बजे नै सुरु हुनेछ । हाम्पडेन पार्कमा दुबै टिम जीत निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

क्रोएसिया २ खेलमा १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

यता स्कटल्याण्ड भने २ खेलमा १ अंक जोडेर समूहको पुछारमा रहेको छ। पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डसँग गोलरहित बराबरीमा खेलेको थियो।

Logo