जारी १६ औं संस्करणको युरोकप फुटबलको आज (बुधबार) समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन्। युरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपमा आज समूह ई र समूह एफ का २–२ खेलहरु हुनेछन् । आज राति हुने खेलमा स्पेन र स्लोभाकिया, स्विडेन र पोल्याण्डबीच, पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ।
सेभियामा हुने समूह ई मा रहेको स्पेन र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यो खेल महत्वपूर्ण रहेको छ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।
यता, स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
आजै हुने यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि राति ९ः४५ बजे नै सुरु हुनेछ। स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ।
यता पोल्याण्ड भने, १ अंक जोडेर समूहको पुछारमा रहेको छ। तर, पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना भने कायमै रहेको छ।
राति हुने अर्को खेलमा समूह एफ अन्तर्गत पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता पोर्चुगल र विश्वकप विजता फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।
पुस्कास स्टेडियममा हुने खेलमा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।
यता, फ्रान्स भने, यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स आज पोर्चुगललाई हराएर समूह विजेता बन्ने होडमा मैदान उत्रिनेछ ।
यसै समूहको अर्को खेलमा जर्मनी र हंगेरी भिड्नेछन्। जर्मनी र हंगेरीबीचको खेल पनि राति १२ः४५ बजे नै सुरु हुनेछ । जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ।
यता, हंगेरी भने १ अंक जोडेर समूहको पुछारमा रहेको छ। आज हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ।





























प्रतिक्रिया