यूरोकपः च्याम्पियन मुलुकहरुको खेल अन्यौलग्रस्त, केही टिमकाे परिस्कृत

यूरोकपः च्याम्पियन मुलुकहरुको खेल अन्यौलग्रस्त, केही टिमकाे परिस्कृत

केन्द्रबिन्दु
0
Shares

यूरोपको विभिन्न ११ शहरहरुमा जारी जारी १६ औं संस्करणको युरोकप २०२० ले थप रोमाञ्चकता प्रदान गरिरहेको छ। लिग चरणको दोस्रो राउण्डको समाप्तिमा केही ठूला मुलुकहरुले आफ्नो खेललाई परिस्कृत गर्दै लगिरहेका छन् भने केही पूर्व च्याम्पियन मुलुकहरुको खेल अन्यौलग्रस्त देखिएको छ। 

दोस्रो चरणको खेलमा इटालीले आफूलाई अब्बल सावित गरेको छ। यस्तै, जर्मनीले सम्हालिएको प्रदर्शन गरेको छ भने स्पेनले थप निराशा दिएको छ। विश्वकप विजेता फ्रान्सको खेल भने अन्यौलग्रस्त बन्दै गइरहेको छ। यस्तै दोस्रोचरणमा आइपुग्दा पोर्चुगल संकटपूर्ण अवस्थाबाट गुज्रन पुगेको छ। 

रोवर्टो मानचिनीको प्रशिक्षणमा रहेको इटाली समूह विजेता बन्दै अन्तिम १६ अथवा नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । आइतबार राति रोमको ओलम्पिक स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह ए को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

आफ्नो पहिलो खेलमा टर्कीलाई तीन–शून्यले पराजित गरेको इटालीले दोस्रो खेलमा स्वीजरल्याण्डलाई त्यति नै स्कोरले पछि पारेको थियो । उत्कृष्ट फर्ममा रहेको इटालीले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलमा भोगेको पीडालाई यतिबेला मैदानमा राम्रो फुटबल खेलेर बिर्साउने प्रयास गरिरहेको छ। सन् २०१८ को विश्वकपमा इटाली छानिएको थिएन र त्यसैका कारण अन्तर्राष्ट्रिय फुटबलमा उसको शाख सकिएको रुपमा हेरिएको थियो। 

तर त्यसयता इटालीले मैदानमा अचम्मको खेल पस्किरहेको छ। पछिल्लो बीस खेलमा इटाली पराजित भएको छैन भने पछिल्लो दश खेलमा एक गोल पनि खाएको छैन। यहि प्रदर्शनका आधारमा इटाली यसपटकको युरोकप जित्ने दावेदार राष्ट्र हो भन्न सकिन्छ। यतिको एकरुपताको प्रदर्शन कुनै पनि युरोपेली टोलीले गर्न सकेका छैनन्। 

युरोकपमै एकरुपताको खेल प्रदर्शन गरिरहेको अर्को राष्ट्र हो, नेदरल्याण्ड्स। अघिल्ला दुई खेलमा लगातार जीत निकालेको नेदरल्यान्ड्स समूह सी बाट नकआउट राउण्डमा स्थान बनाइसकेको छ। यस्तै समूह चरणको तेस्रो राउण्डको खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह सी को विजेता बनेको छ । समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो ।

युरोकपमै एकरुपताको खेल प्रदर्शन गरिरहेको अर्को राष्ट्र हो, नेदरल्याण्ड्स। अघिल्ला दुई खेलमा लगातार जीत निकालेको नेदरल्यान्ड्स समूह सी बाट नकआउट राउण्डमा स्थान बनाइसकेको छ।

बेल्जियमले पनि समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाइसकेको छ । समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो । अन्तिम १६ मा स्थान बनाउने क्रममा बेल्जियमले आफ्नो पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो भने तेस्रो राउण्डको खेलमा फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्यो। स्टार मिडफिल्डर केभिन डी ब्रुएन चोटपछि मैदान फर्किएका कारण पनि बेल्जियम उत्साहित बनेको छ । 

जर्मनीले पनि आफूलाई प्रतियोगितामा कम आँट्न नहुने छनक दिइसकेको छ । गत शनिबार राति भएको खेलमा जर्मन टोलीले खेलमा पछि परेको स्थिती उल्टाउँदै पोर्चुगललाई चार–दुई गोलले पराजित गरेको थियो । यद्यपि दुई गोल भने पोर्चुगलले आत्मघाती गोल गरेको थियो । अब जर्मनीले तेस्रो राउण्डमा हंगेरीसँग खेल्नेछ । समूह एफ मा रहेको जर्मनी र पोर्चुगलको समान तीन–तीन अंक छ भने फ्रान्सको चार र हंगेरीको एक अंक रहेको छ । 

ग्रुप अफ डेथ मानिएको समूह एफबाट दुई खेलपछि पनि नकआउट चरणमा प्रवेश गर्ने टोलीको टुंगो लागेको छैन । यही समूहमा रहेको विश्वकप विजेता टोली फ्रान्सले सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । जर्मनीविरुद्ध आफ्नो पहिलो खेल आत्मघाती गोलका कारण जितेको फ्रान्सले शनिबार साँझ भएको खेलमा हंगेरीसँग एक–एक को बराबरी खेल्दै अंक बाँड्न पुगेको थियो । स्टार खेलाडीहरुले भरिएको फ्रान्सले मैदानभित्र भने उचित तालमेल मिलाउन सकेको देखिंदैन । अब तेस्रो राउण्डको खेलमा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ । 

यता, पूर्व विजेता स्पेन पहिलो चरणबाटै बाहिरिने संघारमा पुगेको छ। समुह ई अन्तर्गत दुई खेल खेलेको स्पेनले दुबै खेल बराबरीमा टुंग्याएको छ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो खेलमा पोल्याण्डसँग एक–एक गोलको बराबरी खेलेको थियो । अब नकआउट चरणमा पुग्न स्पेनलाई स्लोभाकियाविरुद्धको खेलमा स्पष्ट तीन अंक हात पार्नै पर्छ । यसपटक स्पेन आफ्ना अनुभवी कप्तान तथा डिफेण्डर सर्जियो रोमोसबिना मैदानमा उत्रिएको छ । क्लब फुटबलमा राम्रो खेल खेलिरहेका केही युवा खेलाडीलाई पनि प्रशिक्षक लुइस एनरिकेले मौका दिइरहेका छैनन् ।

यस्तै युरोकप २०२० मा सबैको अनुमान विपरित यसपटक चेक रिपब्लिकले निकै राम्रो खेल खेलिरहेको छ । चेक टोली दुई खेलमध्ये एकमा जीत र एकमा बराबरी खेल्दै चार अंकका साथ समूह डी को पहिलो स्थानमा रहेको छ । अब तेस्रो राउण्डको खेलमा चेकले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही समूहमा इंग्ल्याण्डले उत्साहजनक खेल देखाउन सकेको छैन । आफ्ना दुबै खेल घरेलु मैदान वेम्लीमा खेलेको इंग्ल्याण्डले क्रोएशियालाई पराजित गरेपनि स्कटल्याण्डसँग निराशापूर्ण गोलरहित बराबरी खेलेको थियो । 

सन् २०१८ को विश्वकप उपविजेता क्रोएशियाले पनि निराशाजनक प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिने संघारमा छ । दुई खेल खेलेको  क्रोएशिया एक खेलमा पराजित भएको थियो भने एक खेल बराबरी खेल्दै १ अंकसहित समूह डी को तेस्रो स्थानमा रहेको छ । अब क्रोएशियाले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

Logo