फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरु सँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको हो। आज दिउसो एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गरेको हो।
बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता बुधबारबाट खुला हुने बताएको छ। कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो। असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजनमा हुनेछैन।
एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन। एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ। सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ।





























प्रतिक्रिया