युरोकपबाट फ्रान्स बाहिरिएको छ। मंगलबार बिहान भएको खेलमा फ्रान्स स्विट्जरल्यान्डसँग स्तव्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिए पछि फ्रान्स बाहिरिएको हो।
खेलको १५ औं मिनेटमा सेफेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता कायम गरेपनि स्विट्जरल्यान्डविरुद्ध फ्रान्सले दोस्रो हाफको १८ मिनेटभित्रमा तीन गोल गर्दै खेल ३–१ गोलको अवस्थामा ल्याएको थियो।
खेलको ५७ र ५९ मिनेटमा करिम बेन्जिमाले र ७५ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि गोल गरेका थिए।
यस्तै स्विट्जरल्यान्डका सेफोरोभिकले ८१ मिनेटमा र खेल सकिन एक मिनेट अघि गार्भ्रानोभिकले गोल गरेसँगै निर्धारित समयको खेल बराबरीमा सकिएको थियो।
त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि गोल भएन । जसले गर्दा खेल पेनाल्टी सुटआउटमा पुगेको हो। सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले अब स्पेनको सामना गर्नुपर्नेछ ।
त्यसअघि सम्पन्न खेलमा स्पेनले क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।





























प्रतिक्रिया