राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक सातापछि सारिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक सातापछि सरेको जनाएको हो। एन्फाले खेलाडीको प्रशिक्षण अर्को साता मंगलबारबाट सुरु हुने बताएको छ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफका लागि एन्फाले ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टिम र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडीको सूची तयार पारेका थिए।
उनले मोफसलका केही खेलमा समेत खेलाडीको प्रदर्शन नियालेका थिए । सोही अनुसार उनले साफका लागि भन्दै ५० खेलाडीलाई राष्ट्रिय टिममा बोलाएका थिए । प्रशिक्षण जुलाई १ अर्थात आजबाट सुरु हुने भनिएको थियो । तर, प्राविधिक कारण देखाउँदै एन्फाले प्रशिक्षणलाई एक सातापछि सारेको छ।
नेपालले अब साफ च्याम्पियनसिपको तयारी गर्नेछ । प्रतियोगिता यसै वर्ष बंगलादेशमा हुँदैछ। नेपालले भर्खरै विश्वकप छनोटका खेलहरु सम्पन्न गरेको छ । विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा नेपालले एसिया कपको छनोटसमेत सिधै खेल्न पाउने भएको हो।





























प्रतिक्रिया