ब्राजिलमा जारी दक्षिण अमरिकी महादेशको सबैभन्दा ठूलो र प्रतिष्ठित तथा विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकाको फाइनल समीकरण तय भइसकेको छ। यसपालि साविक विजेता ब्राजिल र अर्जेन्टिनाले फाइनलमा स्थान बनाएका छन्।
कोपा अमेरिकामा यसपटक गोल्डेन बुट अवार्ड कसले जित्ला भन्नेमा सबैको चासो बढेको छ। ब्राजिलमा जारी ४७ औं संस्करणको कोपामा प्रतियोगिता भरमा सर्वाधिक गोल गर्ने खेलाडीले पाउने ‘गोल्डेन बुट’ प्रतिष्ठित अवार्डमा पर्छ।
कोपा अमेरिकाको फाइनल समीकरण पूरा हुँदा सर्वाधिक गोलकर्ता अर्थात् गोल्डेन बुट अवार्डको दाबेदारको शीर्ष स्थानमा अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी रहेका छन्। अर्जेन्टिनाका कप्तान ३४ वर्षीय मेस्सी ६ खेलमा कुल चार गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् भने मेस्सीले ५ गोलका लागि ‘असिस्ट’समेत गरेका छन्।
जारी प्रतियोगितामा गोल तथा ‘असिस्ट’ गरेर सर्वाधिक गोलमा योगदान दिने मेस्सी नम्बर वान खेलाडी हुन्। उनले फाइनलसम्मको यात्रामा ६ खेलमा ९ गोल गर्न योगदान दिएका छन्। त्यत्ति मात्र होइन, जारी प्रतियोगितामा मेस्सीले खेलेका ६ खेलमध्ये चार खेलमा ‘म्यान अफ द म्याच’ अवार्डसमेत पाएका छन्।
अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन मेस्सीले प्रभावकारी प्रदर्शन गर्दै आएका छन्। मेस्सीले जारी कोपाको पाँच खेलमा चार पटक ‘म्यान अफ दि म्याच’ समेत हात पारेका छन्। गोल्डेन बुटको होडमा अर्जेन्टिनाकै लाउटरो मार्टिनेजले दोस्रो स्थानमा रहेका छन्। मार्टिनेजले तीन गोल गरेका छन्। यस्तै, तेस्रो स्थानमा ब्राजिलका नेइमार छन्। उनले ६ खेलमा २ गोल गर्नुका साथै तीन गोलमा ‘असिस्ट’ गरेका छन्।
हालसम्मको अवस्था नियाल्ने हो भने मेस्सी नै एक मात्र गोल्डेन बुट अवार्डका दाबेदार हुन्। मेस्सी गोल्डेन बुट विजेता बन्ने करिब पक्का छ। यस्तै, ‘बेस्ट प्लेयर अफ दि टुर्नामेन्ट’ अवार्डका लागि पनि मेस्सी नै नम्बर वान दाबेदार रहेका छन्। यदि अर्जेन्टिना उपाधि च्याम्पियन बनेमा यो अवार्ड निर्विवाद मेस्सीले जित्नेमा कुनै शंका छैन।
मेस्सीले हालसम्म ६ पटक गोल्डेन बुट अवार्ड हात पारिसकेको छन्। मेस्सीले बार्सिलोना क्लबबाट सन् २००९–१० को ला–लिगा फुटबल लिगमा सर्वाधिक ३४ गोल गर्दै पहिलो गोल्डेन बुट हात पारेका थिए। यस्तै, सन् २०११–१२ को ला–लिगामा पनि बार्सिलोनाबाटै ५० गोल गर्दै मेस्सीले दोस्रो गोल्डेन बुट प्राप्त गरेका थिए।
अर्जेन्टिनाका कप्तान ३४ वर्षीय मेस्सी ६ खेलमा कुल चार गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् भने मेस्सीले ५ गोलका लागि ‘असिस्ट’समेत गरेका छन्।
यस्तै, सन् २०१२–१३ को ला–लिगामा ४६ गोल गरेर अवार्ड हात पारेका मेस्सीले २०१६–१७ को सिजनमा पनि ४७ गोल गर्दै अवार्ड हात पारेका थिए।
यसपछि पनि मेस्सीले लगातार दुईपटक अवार्ड कब्जा गरेका छन्। उनले बार्सिलोनाबाटै सन् २०१७–१८ र सन् २०१८–१९ को ला–लिगामा क्रमशः ३४ र ३६ गोल गर्दै गोल्डेन बुट कब्जा गरेका थिए।
मेस्सीप्रेरित टिम अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गर्ने क्रममा कोलम्बियालाई टाइब्रेकरमा ३–२ गोलले हराएको थियो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो। अर्जेन्टिनाले खेलको सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो। जसमा लियोनल मेस्सीले नै डिबक्सभित्र दिएको पासमा मार्टिनेजले गोल गरेका थिए। मेस्सी व्यक्तिगत गोल गर्न असफल भए पनि यस गोलमा उनको महत्वपूर्ण भूमिका रह्यो। यस्तै, टाइब्रेकरमा भने मेस्सी गोल गर्न सफल भएका थिए।
क्वाटरफाइनलमा पनि मेस्सी चम्किँदा अर्जेन्टिनाले १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। त्यस क्रममा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी, रोड्रिगो डी पल र लौराटो मार्टिनेजले समान एक–एक गोल गरेका थिए।
अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको महत्वपूर्ण भूमिका रह्यो। मेस्सीको पासमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। मार्टिनेजले पनि मेस्सीले नै उपलब्ध गराएको पास सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए। खेलको इन्जुरी समयमा मेस्सीले उत्कृष्ट फ्रि किकमार्फत् अर्जेन्टिनालाई ३–० को जित दिलाए।
प्रतियोगिताको समूह चरणको पहिलो खेलमै अर्जेन्टिनाका लागि मेस्सीले पहिलो गोल गरेका थिए। मेस्सीले चिलीविरुद्धको खेलमा पनि फ्रि किकमार्फत् गोल गरेका थिए। तर, मेस्सीको टिम अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
यस्तै, दोस्रो खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको थियो। यस खेलमा उरुग्वेविरुद्ध गोल गर्न मेस्सी बारम्बार चुकेका थिए। अर्जेन्टिनाले तेस्रो खेलमा पनि पाराग्वेलाई १–० गोल अन्तरले हराएको थियो। मेस्सीले गोल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
कोपा अमेरिका फुटबलको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको थियो। अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको थियो। अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरेका थिए। जसमध्ये एक गोल पेनाल्टीमार्फत् गरेका थिए। यस्तै, अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक–एक गोल थपे। जसमा मेस्सीको पासलाई सदुपयोग गर्दै गोमेजले अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।
बोलिभियाविरुद्धको खेलसँगै मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानी समेत बनाएका थिए। मेस्सीले पूर्वमिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १ सय ४७ खेलको कीर्तिमान भंग गरेका हुन्। यस खेलसँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४८ खेल पूरा गरेका थिए। हालसम्म मेस्सीले अर्जेन्टिनाका लागि १ सय ५० खेलमा ७८ गोल गरिसकेका छन्।
अब मेस्सीको टिम अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो। अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसँग फाइनल खेल्न लागेको हो।





























प्रतिक्रिया