दशरथ रंगशालामा चैतमा त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि हात पारेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार नगद पुरस्कार प्रदान गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर उपाधि विजेता २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेका हुन् । खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्लले समान २ लाख रुपैयाँ प्राप्त गरेका छन्।
नेपाली टोलीले चैतमा कीर्गिस्तानको ओलम्पिक टिम र बंगलादेशको राष्ट्रिय फुटबल टिम सम्मिलित प्रतियोगिताको उपाधि उचालेको थियो। फाइनल खेलमा नेपालले बंगलादेशलाई हराएको थियो।
नेपालले फाईनलमा बंगलादेशलाई २–१ ले हराएको थियो। नेपालको जितमा सञ्जोक राई र बिशाल राईले एक एक गोल गरेका थिए। कोभिड लगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शक राखेर प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगिताको फाइनल हेर्न प्रधानमन्त्री केपी ओली रंगशाला पुगेका थिए । उनले उपाधि विजेता खेलाडीलाई मैदानमा गएर बधाई दिएका थिए । लगत्तै सरकारले उपाधि विजेता राष्ट्रिय टिमका खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो।
विश्व कप छनोटका ३ खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोरोना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको थियो।
त्रिदेशीय फुटबल प्रतियोगिताका विजेता टोलीः
गोलकिपर– किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दीप कार्की
डिफेन्डर– रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रन्जित धिमाल, निशान खड्का, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडफिल्डर– सन्जोक राई, विशाल राई, तेज तामाङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, सुनिल बल र रवि शंकर पासवान
फरवार्ड– अभिषेक रिजाल, अन्जन बिष्ट, दर्शन गुरुङ र भरत खवास
प्रशिक्षक टोली– बालगोपाल महर्जन (मुख्य), किरण श्रेष्ठ, विकास मल्ल (गोलकिपर)





























प्रतिक्रिया