युरोकप २०२०: बिर्सन नसकिने क्षणहरु

युरोकप २०२०: बिर्सन नसकिने क्षणहरु


लण्डनको बेम्बलीमा भएको युरोकप २०२० फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै इटालीले उपाधि जितेसँगै युरोकप समाप्त भएको छ। 

एक महिनाभर चलेको युरोकपमा इटालीले ३४ पटक अपराजित रहँदै दोस्रो पटक उपाधि चुम्न सफल भएको हो । युरोकपको ६० वर्षे इतिहासमा अहिलेसम्म १६ संस्करण आयोजना भएका छन् । जसमा १० राष्ट्रले उपाधि जितिसकेका छन् । 

कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना भएको थियो । १२ जुनबाट सुरु भएको यस प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो । जसलाई ६ समूहमा विभाजन गरिएको गरिएको थियो। 

युरोकप २०२० मा कुल ५१ खेलहरु भए जसमा १६ वटा पेनाल्टी प्रदान गरिएको थियो जसमध्ये १० पेनाल्टी सदुपयोग हुँदा ६ पेनाल्टी भने गोलमा परिणत हुन सकेन । यस्तै प्रतियोगितामा  ६ रेड कार्ड दिइएको थियो। जसमा पोल्यान्ड, वेल्स, नेदरल्यान्ड्स, स्वीडेन र स्विट्जरल्यान्डका खेलाडीहरु यसको शिकार बन्न पुगेका थिए। यस्तै ११ आत्मघाती गोल भएको थियो। 

युरोकप २०२० मा सर्वाधिक गोलको कीर्तिमान
यसपालीको युरोकपमा सर्वाधिक गोलको कीर्तिमानसमेत बन्यो । युरो २०२० मा अहिलेसम्मकै सर्वाधिक धेरै अर्थात १ सय ४२ गोल भए । अनि गोलको अनुपात पनि अहिलेसम्मकै उच्च रह्यो । फाइनलमा इंग्ल्याण्डविरुद्ध इटलीका डिफेण्डर लियोनार्दो बोनुचीले गरेको गोल १४२ औं गोल थियो । युरोमा सहभागी टिम बढाएर २४ पुर्याएपछि दोस्रो पटक प्रतियोगिता भएको हो । पाँच वर्षअघि २४ टिम नै सहभागी भएको युरोमा १ सय ८ गोल भएको थियो । अन्तिम १६ को खेलमा क्रोएसियाका मिस्लाभ ओर्सिकले स्पेनविरुद्ध गोल गरेपछि नै त्यो १ सय ८ को कीर्तिमान भने तोडिसकेको थियो।

सन् १९८० बाट युरोकपमा समूह चरणका खेल सुरु भएको थियो। त्यसयता यसपटक भएको गोल संख्या गोल अनुपातमा पनि उच्च रह्यो । सन् २००० मा १६ टिमको प्रतियोगिता हुँदा ८५ गोल भएको थियो । जसको अनुपात २ः७४ थियो । यसपटक २४ टिम सहभागी युरोमा १ सय ४२ गोल हुँदा अनुपात २ः७८ रह्यो ।

अन्तिम १६ मा स्पेन र क्रोएसिया बीचको खेलमा ८ गोल भएको थियो । जुन एकै खेलमा भएको दोस्रो सर्वाधिक गोल हो। सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभाकियाबीचको खेलमा ९ गोल भएको थियो ।
 
डेनमार्कका क्रिस्टियन एरिक्सन मैदानमै हृदयघात भएर ढले
युरो–२०२० को तेस्रो खेल र डेनमार्कको पहिलो खेलमै डेनमार्कले आफ्नो होनहार खेलाडी गुमाउन पुगेको थियो । समुह चरण अन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको खेलमा डेनमार्कका क्रिस्टियन एरिक्सन अकस्मात मैदानमै बेहोस भएर लडेका थिए । खेलको ४३ औं मिनेटमा इरिक्सन घाइते हुन पुगेका थिए । उनी घाइते भएसँगै दुईबीचको खेल पनि रद्द गरिएको थियो। 

मैदानमै झन्डै १५ मिनेट उनको उपचार गरिएको थियो र त्यसक्रममा ‘सीपीआर’ प्रदान गरिएको थियो । डेनमार्कका लागि सर्वाधिक गोलको कीर्तिमान एरिक्सनकै नाममा रहेको छ। उनी मैदानमा ढलेपछि दुवै टिमका खेलाडी स्तब्ध देखिएका थिए।

डेनमार्कका खेलाडी निकै चिन्तामा देखिएका थिए भने केही खेलाडीको आँसुसमेत झरेको थियो । उपचारमा क्रममा डेनमार्कका २९ वर्षीय एरिक्सनलाई दुवै टिमका खेलाडीहरूले घेरेका थिए र पछि मेडिकल टिमले उनलाई उपचारका लागि अस्पतालतर्फ लगेका थिए । त्यसपछि मात्र उनलाई हृदयघात भएको थाहा भएको थियो। 

सर्वाधिक आत्मघाती गोल
युरोकपको यस संस्करणमा कूल ११ वटा आत्मघाती भए। युरोपियन च्याम्पियनसीपका पछिल्ला १५ संस्करणमा ९ वटा मात्र आत्मघाती गोल भएका थिए। पछिल्लो संस्करण सन् २०१६ मा सर्वाधिक ३ वटा मात्र आत्मघाती गोल भएका थिए। तर, यो संस्करणमा भने गोलकिपरदेखि डिफेन्डर र मिडफिल्डरसम्मले आत्मघाती गोल गरे। 

यस संस्करणको पहिलो गोल नै आत्मघाती भएको थियो । पहिलो खेलमा इटालीविरुद्ध टर्कीका मेरिह डेमिरालले आत्मघाती गोल गरेका थिए । प्रतियोगिता इतिहासमा नै पहिलो पटक शुरुवाती गोल आत्मघाती भएको थियो । त्यसपछि वोजिएक सिजेस्नी, उनाइ सिमोन, लुकास ह्याड्रेक्की, रुवेन डिइस, राफाइल गुइर्रेइरो, म्याट हमल्स, डेनिस जाकारिया, मार्टिन दुब्राभ्का, पेड्री सिमोन क्जायर लगायतले आत्मघाती गोल गरे । युरो २०२० मा भएका आत्मघाती गोलका सधैंका लागि याद रहिरहनेछ ।

सबभन्दा छिटो गोल
युरोकप फुटबलको फाइनलमा इटालीविरुद्ध इंग्ल्यान्डका लुक शले सबैभन्दा छिटो गोल गरेका छन् । शले खेलको एक मिनेट ५७ सेकेन्डमा गोल गरेका थिए । जुन युरोपेली च्याम्पियनशिपको अहिलेसम्मकै छिटो गोल हो । उनले किएरन ट्रिपिएरको पासमा गोल गरेका थिए ।

शले सुरुवाती अग्रता दिलाएको इंग्ल्यान्ड अन्ततः घरेलु मैदानमा इटालीसँग पराजय भयो । निकै प्रतिस्पर्धात्मक भएको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो । जसमा ३–२ गोलले इटालीले बाजी मार्यो । 

तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार
युरो २०२० को फाइनलमा पराजित भएपछि इंग्ल्यान्डका तीन खेलाडीमाथि रंगभेदी दुर्व्यवहार भएको छ। घरेलु मैदानमा भएको फाइनलमा इंग्ल्यान्डले इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ को हार बेहोर्दा इंग्ल्यान्डका तीन खेलाडी मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टी चुकाएका थिए। 

लन्डन महानगरीय प्रहरीले यो दुर्व्यवहारको घट्नाबारे अनुसन्धान गरिरहेको छ। इंग्लिस फुटबल एसोसिएसन (दि एफए) ले आफ्ना तीन खेलाडीमाथि भएको घटनाको भत्र्सना गरेको छ । उसले भनेको छ, ‘यो स्वीकार गर्न सकिने घटना होइन।’ द एफएले खेलाडीमाथिको दुव्र्यवहारबाट स्तब्ध भएको जनाएको छ।

रंगभेदी व्यवहारविरुद्धको लडाईंमा साथ दिन भन्दै युरो २०२० मा इंग्ल्यान्डका खेलाडीले खेल सुरु हुनुअघि घुँडाले टेकेर समर्थन गर्ने गरेका थिए। इंग्लिस टिमले पनि इटालीविरुद्धको फाइनलहरु त्यही गरेको थियो । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बुकायो साकालाई दोस्रो हाफमा तथा मार्कस रासफोर्ड र जाडोन सान्चोलाई पेनाल्टीकै लागि अतिरिक्त समयको अन्त्यतिर मैदान प्रवेश गराएका थिए।

Logo