‘बालोन-डे ओर’का पाँच दाबेदार, मेस्सीको हातमा पर्ला त अवार्ड?

‘बालोन-डे ओर’का पाँच दाबेदार, मेस्सीको हातमा पर्ला त अवार्ड?


विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर अवार्ड कसले जित्ला भन्ने चासो सबैमा बढेको छ। केही दिनअघि मात्रै मिनी विश्वकप भनिने युरोकप २०२० र दक्षिण अमेरिकी पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२१ सकिएको छ। 

यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारका रूपमा अघि सारिएको छ । युरोकप इटाली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका खेलाडी मुख्य दाबेदार बनेका छन्।

बालोन डे ओर अवार्ड फ्रान्सेली समाचार पत्रिका फ्रान्स फुटबलले प्रस्तुत गर्दै आएको सबैभन्दा पुरानो बार्षिक फुटबल पुरस्कार हो। फुटबल खेलाडीका लागि यो सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डसमेत हो।  

सन् १९५६ देखि प्रदान गर्दै आएको यो अवार्ड सन् २०१० देखि फिफासँग मिलेर फिफा बालोन डे ओरको नामले प्रदान गर्न थालिएको थियो। तर, सन् २०१६ पछि भने यी दुईको सहकार्य अन्त्य भयो र छुट्टा–छुट्टै अवार्ड प्रदान गर्न थालियो। त्यसपछि फिफाले नयाँ नाममा फिफा बेस्ट अवार्ड आयोजना गर्न थालेको छ।

खेल लेखक ग्रेबियल हनोटद्वारा कल्पना गरिएको यो अवार्ड सन् १९५६ देखि २००६ सम्म फुटबल पत्रकारले गरेको मतदानका आधारमा वर्षभरिमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्ने गरिन्थ्यो। 

तर, सन् २००७ पछि भने राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानलाई मतदान गर्ने अधिकार दिइएको छ। युरोपियन फुटबलर अफ इयरका रूपमा परिचित यस अवार्डलाई सन् १९९५ मा बालोन डे ओर नाममा विस्तार गरिएको थियो । 

हालसम्म यो अवार्डमा लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो समान १२–१२ पटक मनोनयनमा परेका छन्। जसमध्ये मेस्सीले सर्वाधिक ६ पटक यो अवार्ड प्राप्त गर्दै सूचीको शीर्ष स्थानमा रहेका छन् भने क्रिस्टियानो रोनाल्डोले पाँचौं पटक यो अवार्ड प्राप्त गर्दै सूचीको दोस्रो स्थानमा रहेका छन्। 

वर्षेनी प्रदान गर्दै आएको यस अवार्ड गत वर्ष सन् २०२० मा विश्वभर फैलिएको कोरोना महामारीका कारण प्रभावित बनेको थियो। तर, सन् २०२१ को सुरुआती चरणबाटै युरोपेली राष्ट्रमा कोरोना केही मत्थर हुन थालेपछि फुटबल प्रतियोगिता सुचारु भएका थिए। सोही अनुसार यसपाली यस व्यक्तिगत अवार्डका लागि दाबेदारको रूपमा रहेका ५ खेलाडी यस प्रकार छन् 

१. लिओनल मेसी
सर्वाधिक ६ पटक बालोन डे ओर अवार्ड विजेता हुन् अर्जेन्टिनाका कप्तान ३४ वर्षीय लियोनल मेस्सी। स्पानिस क्लब बार्सिलोनामा सम्झौता सकिएपछि फ्रि एजेन्टका रुपमा रहेका मेसीले पहिलो पटक अर्जेन्टिनाको लागि मुख्य उपाधि कोपा अमेरिका २०२१ जिताएका छन्। कोपा अमेरिका नजितेको भए मेस्सी यस अवार्डका लागि मुख्य दाबेदारको रुपमा नरहन सक्थे। तर, अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका जिताउँदा मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि बने। उनले कोपामा ४ गोल तथा ५ असिस्ट गरेका थिए । त्यसैले उनी यसपटक पनि बालोन डे ओर अवार्डका लागि दाबेदारको पहिलो सूचीमा रहेका छन्। 

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ को बालोन डे ओर अवार्ड लगातार हात पारेको थियो। गत सिजन बार्सिलोनाका लागि कोपा डेल रे जितेका मेसी ला लिगामा पनि सर्वाधिक गोलकर्ता बनेका थिए।

२. रोवर्ट लेवान्डोस्की
बर्ष २०२१ का लागि प्रतिष्ठित बालोन डे ओर अवार्डमा एक मुख्य दोबेदार मानिएका जर्मन क्लब बायर्न म्युनिखक तथा पोल्याण्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई प्लेयर अफ द सिजन घोषित गरेका छन्। क्लब बार्यनले ३२ वर्षीय लेवान्डोस्कीलाई सिजन २०२०–२०२१ का लागि क्लबका तर्फबाट सर्वोकृष्ट खेलाडी घोषित गरेको हो। समर्थकले गरेको अनलाइन भोटिङका आधारमा लेवान्डोस्की सिजभरकै नम्बर वान खेलाडी बनेका हुन् ।

सन् २०२० मा बालोन डे ओरमा निविर्वाद दाबेदार रहे पनि कोरोना महामारीका कारण अवार्ड नै रद्द हुँदा लेवान्डोस्की करिअरको पहिलो बालोन डे ओर जित्नबाट ठगिएका थिए। तर, यस वर्ष २०२१ मा पनि उनी अवार्डका लागि दाबेदार मानिएका छन्। उनको टिमले गत च्याम्पियन्स लिग र यस वर्षको युरोकपमा उल्लेखिय प्रदर्शन नगरे पनि व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेका कारण लेवान्डोस्की अझै पनि बालोन डे अवार्डमा एक मुख्य दाबेदार हुन्।

लिगको उत्कृष्ट खेलाडीमा उनी एर्लिङ हालान्डभन्दा पछि परे पनि बायर्नका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। लेवान्डोस्कीले जर्मन बुण्डेसलिगामा २९ खेलबाट ४१ गोल गर्दै कीर्तिमान तोडेका थिए। 

युरोकप २०२० मा लेवान्डोस्कीको टिम पोल्यान्ड अन्तिम १६ बाटै बाहिरएको थियो। तर, लेवान्डोस्कीले व्यक्तिगत रुपमा उच्च प्रर्दशन गर्दै तीन खेलमा ३ गोल र १ असिस्ट गरेका थिए ।

३. ह्यारी केन
हालै सम्पन्न भएको युरोकप २०२० मा इंग्ल्याण्ड उपविजेता बन्यो । युरोकप २०२० मा इंग्ल्याण्डका २७ वर्षीय फरवार्ड तथा कप्तान ह्यारी केन फर्ममा देखिएका थिए। जसका कारण यसपाली केन बालोन डे ओरका लागि दाबेदार बनेका छन्। केनले युरोकपको नकआउट राउन्डमा उत्कृष्ट खेल्दै चार गोलसमेत गरेका थिए। तर, फाइनलमा भने उनले इटालियन डिफेन्सलाई पार गर्न सकेनन्। 

टोटनहम क्लबका केन पछिल्लो सिजनको इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता समेत बनेका थिए। उनले एउटै सिजनमा २३ गोल तथा ५ असिस्ट समेत गरेका थिए। कम उपलब्धि हात पार्ने टोटेनहम क्लबबाट खेलिरहेका केनले टोटेनहमका लागि यति धेरै गोल गरेका हुन्। 

यस्तै, पछिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता बनेका केनले युरो छनोटमा १२ गोल गरेका थिए। बालोन डे ओर अवार्डको मनोनयनमा परेपनि हालसम्म केनले अवार्ड भने हात पार्न सकेका छैनन्। 

४.जर्गिन्हो 
इटालीका मिडफिल्डर जर्गिन्होले युरोकप र युरोपियन च्याम्पियनसिप दुवै जिते। उनले इटलीका लागि युरोकप २०२० जितेका थिए भने चेल्सीबाट च्याम्पियन्स लिग जितेका थिए। २९ वर्षीय जर्गिन्होले दुवै ठूलो उपाधि जितेका कारण उनलाई पनि बालोन डे ओर अवार्डको दाबेदारको रुपमा हेरिएको छ। 

जर्गिन्होले युरोकप २०२० र युरोपियन च्याम्पियनसिप लिगमा पाँच गोल तथा दुई सहायक गोल गरेका थिए। चेल्सीले च्याम्पियनसिप लिग जित्नुमा जर्गिन्हो सर्वश्रेष्ठ खेलाडी बनेका थिए। यस्तै, इटालीले युरोकप २०२० जित्दा पनि जर्गिन्होले प्रमुख भूमिका खेलेका थिए।  त्यसका कारण पनि नापोलीका पूर्वखेलाडी जर्गिन्हो सन् २०२१ को उत्कृष्ट खेलाडी बन्नका लागि लायक छन्।

५. जर्जियो चिलीनी 
इटालियन डिफेण्डर तथा कप्तान जर्जियो चिलीनीको टिमले युरो कप २०२० को उपाधि जित्यो। यिनै युरो च्याम्पियन टिमका चिलीनी बालोन डे ओरका लागि मुख्य दाबेदार हुन नसके पनि युरोमा गरेको प्रदर्शन भने गज्जबको रहेको थियो। भेट्रान डिफेण्डर चिलीनी र लियोनार्दो बोनुचीले गोलकिपर जियानलुजी डोनारुम्मा अघि रहेर उत्कृष्ट प्रदर्शन गरे। चिलीनी विना इटलीलाई अपराजित रहेर युरो जित्न गाह्रो हुन्थ्यो ।

चिलीनी हाल सिरी ए क्लब युभेन्टसबाट खेल्छन्। चिलीनी शारीरिक रुपमा मजबुद र आक्रामक डिफेन्डर हुन्। सन् २००६ मा विश्वकप विजेता कप्तान इटलीकै फाबियो कानभारोपछि कुनै पनि डिफेण्डरले यो अवार्ड जित्न सकेका छैनन्। तर, यस पटक परिवर्तन हुन सक्छ कि! 

Logo