राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ मा हुँदैछ ।

अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेना गरी ४४ टिमका २ सय ८ खेलाडीले कौशल प्रर्दशन गर्ने आयोजक कागेश्वरी मनोहराका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले बताएका छन् ।

पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता पार्वती गुरुङ, सन्जिला तिम्सिना, सुशिला राई, स्वस्तिका तामाङ लगायत अन्य पदक विजेताको पनि सहभागिता जनाउनेछन् । कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा हुन लागेको प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिनेछ । अवार्डको राशी ५ हजार नगद पुरस्कार रहेको छ ।

यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिनेछ । यसको नतिजा अक्टोबर २० तारिखमा सार्वजनिक गरिनेछ । प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने रहनेछन् ।

Logo