टोकियो ओलम्पिकः २९ स्वर्णसहित चीनको अग्रता कायमै

टोकियो ओलम्पिकः २९ स्वर्णसहित चीनको अग्रता कायमै


विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो।

टोकियोमा जारी ओलम्पिकको ११ औं दिनको खेल जारी रहँदा २१० स्वर्ण पदकको छिनोफानो भएको छ । मंगलबार अपरान्हसम्म रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्णपदक जितेका छन्।

चीनले २९ स्वर्ण, १८ रजत र १६ कास्य पदकसहित कुल ६३ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण, २७ रजत र १७ कास्य पदकसहित कुल ६६ पदक जितेको छ। तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण, ६ रजत र १० कास्यसहित कुल ३४ पदक जितेको छ।

अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र  १५ कास्यसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेनले १३ स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ३७ पदक जितेर पाँचौं स्थानमा रहेको छ।

यस्तै रसियन ओलम्पिक टिमले १२ स्वर्ण जित्दा जर्मनीले ७ स्वर्ण जितेको छ। फ्रान्स, न्युजिल्याण्ड र दक्षिण कोरियाले ६/६ स्वर्ण जितेको छ। नेदरल्यान्ड्सले ५ स्वर्ण जित्दा इटाली र चेक रिपब्लिकले ४÷४ स्वर्ण पदक जितेको छ। क्यानडा, स्विट्जरल्यान्ड, हंगेरी, ब्राजिल, क्युवा र क्रोएसियाले ३÷३ स्वर्ण पदक जितेको छ।

२ स्वर्ण जित्ने राष्ट्रमा नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया रहेको छ। त्यस्तै ३० राष्ट्रले १/१ स्वर्ण पदक जितेको छ।

Logo