‘म क्रिकेटबाट टाढा भएको हाेइन, भूमिका मात्र बदलिएकाे हाे’: पारस खड्का

‘म क्रिकेटबाट टाढा भएको हाेइन, भूमिका मात्र बदलिएकाे हाे’: पारस खड्का


राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेटबाट आफू नटाढिएको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले क्रिकेटमा आफ्नो भूमिका मात्र बदलिने बताएका हुन्। ‘क्रिकेटबाट टाढा भएको हैन। क्रिकेटसँगै रहन्छु। भूमिकामात्र बदलिनेछ ।’ उनले भने ।

मंगलबार बिहान पारसले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए। उनले दुई वर्ष अघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको बताए।

‘दुई वर्षअघिनै सन्यासबारे सोचेको थिएँ । तर टिमलाई सहयोग गर्न पर्छ भनेर बसेको हुँ । दुई वर्ष पुरा भएपछि छाडें।’ उनले भने ।

पारसले कप्तान र खेलाडीको रुपमा आफूले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको बताएका छन् । उनले आफ्नो इच्छा क्रिकेट व्यवस्थापनमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्रिकेटलाई भने बिट मारेको बताए। 

उनले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको पनि बताएका छन्। ‘एकदिवसीय मानयता जोगाई राख्न ठूलो चुनौती छ। यसलाई जोगाई राख्नु नै ठूलो कुरा हुनेछ।’ उनले भने।

Logo