खेलाडी कुट्न समर्थकहरु मैदानभित्र पसेपछि…

खेलाडी कुट्न समर्थकहरु मैदानभित्र पसेपछि…

केन्द्रबिन्दु
0
Shares

फ्रान्सेली लिग वन अन्तर्गत निस र मार्सेबीचको खेल घरेलु टोली निसका समर्थक विपक्षी खेलाडी कुट्न मैदान प्रवेश गरेपछि रद्द भएको छ । आइतबार राति घरेलु टोली निसका समर्थकहरु विपक्षी टिमका खेलाडीलाई बोतल प्रहार गर्दै मैदान छिरेर हुलदंगा गरेपछि खेल स्थगित गरिएको हो।

दोस्रो हाफको खेलको ७४ औं मिनेट चलिरहँदा मार्सेलीका डिमिट्री पायटलाई निसका समर्थकले बोतल प्रहार गरेका थिए। बोतल लागेपछि मैदानमा ढलेका उनले उठेर उक्त बोतल समर्थकतर्फ नै फ्याँकेका थिए। त्यसपछि निसका समर्थकहरु मैदान छिरेर हुलदंगा मच्चाएका थिए। लगत्तै मार्सेका अन्य खेलाडी पनि पाएटकै पछि लागे।  

एकातर्फ निसका खेलाडी मार्सेका खेलाडीलाई रोक्ने प्रयासमा थिए भने केही समर्थक मैदान पसेर विपक्षी खेलाडीमाथि हातपात नै गरेका थिए। एक्कासी भएको घटनामा मैदानका स्टेवार्ड (सुरक्षा दिने टोली) ले पनि भीड थाम्न सकेनन् । समर्थकको आक्रमणबाट पाएटको ढाडमा चोट लागेको छ । यसै सिजन क्लबमा आएका मिडफिल्डर म्याटियो गुएन्डोजी र लुइस पेरेसको घाँटीमा पनि निलडाम रहेको छ । यस्तै अन्य खेलाडीले पनि सामान्य चोट बोकेका छन्। 

रेफ्री बेनोइत बास्तीएनले खेल केहीबेर रोक्दै दुवै टोलीलाई भित्र लगे । तर पुनः खेल सुचारु गर्ने वातावारण नदेखेपछि रेफ्रीले खेल रद्द गर्ने निर्णय गरे । मार्सेलीका खेलाडीले पुनः खेल्न अस्विकार गरेपछि खेल स्थगित गरिएको हो । खेल स्थगित हुनु अघि निस १–० ले अघि रहेको थियो । निसका कास्पर डोल्बर्गले गोल गरेका थिए। 

Skip This
Skip This
Logo