ईपीएलः स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा

ईपीएलः स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा


चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा काठमाडौं किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भैरहवा ग्लाडीयटर्सविरुद्धको स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा पुगेको हो।

सोमबार परेको वर्षाले मैदान भिजेका कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक एक अंक बाँडेका हुन् । भैरहवा र काठमाडौंबीचको खेल टससमेत नभई स्थगित भएको हो।  

मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा अम्पायरले खेल स्थगित गरेको हो। भैरहवा र काठमाडौंबीचको खेल बिहान ९ः३० बजे सुरु हुने तालिका थियो।

काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो। काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो। ललितपुर प्याट्रीयट्ससँग सामान ३ अंक जोडे पनि काठमाडौं नेट रन रेटमा अघि रहेको हो।

साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ। भैरहवा ७ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ। अब चितवन टाइगर्स र भैरहवाले पहिलो क्वालिफायर खेल खेल्नेछ। काठमाडौंले पोखरा राइनोजसँग इलिमिनेटर खेल खेल्नेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ।

पराजित हुने टिमले फाइनल प्रवेशका लागि पुनः इलिमिनेटरको विजेतासँग खेल्नेछ। प्रतियोगिताका विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाइएको छ।

Logo