ईपीएलः पोखरालाई हराउँदै चितवन पहिलो पटक फाइनलमा

ईपीएलः पोखरालाई हराउँदै चितवन पहिलो पटक फाइनलमा

केन्द्रबिन्दु
0
Shares

चितवन टाइगर्स पहिलो पटक चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो। चितवनको जीतमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए। उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे। करिम जनत ४ रनमा अविजित रहे। पोखराका नन्दन यादवले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो। पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए। सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए। लोकेश बम ५, सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए। कप्तान विनोद भण्डारी र नन्दन यादव शुन्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे। 

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए। सोमपाल कामी र करिम जनतले १÷१ विकेट लिए ।

अब चितवनले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ। पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ। दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ। 

आजै नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच दिउँसो १ः३० बजे प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।

Skip This
Skip This
Logo