राजस्थानको रोमान्चक जित

राजस्थानको रोमान्चक जित

केन्द्रबिन्दु
0
Shares

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो ।

जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको यो कीर्तिमानी जित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए ।

राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनी राजस्थानको जितमा मुख्य नायक बने । टेवटियाले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए ।

यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

Skip This
Skip This
Logo