खेलकुदमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको छ: कांग्रेस नेता सिंह

खेलकुदमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको छ: कांग्रेस नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको बताएका छन् ।

मंगलवार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरू बढ्न थालेको बताएका हुन् । उनले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुसी व्यक्त गरे । उनले आन्तरिक खेलले खेलाडीहरूको मनोबल बढाउने बताएका छन् । यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रूपमा स्वस्थ राख्ने बताए ।

नेता सिंहले भने ‘आन्तरिक खेलले खेलाडीहरुलाई अवसर सिर्जना गर्छ । यस्ता टुर्नामेण्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँछन् । यो टुर्नामेण्ट टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी काम हुनेछ । खेललाई बिस्तारै प्रोत्साहन गर्नेहरूको जमात बढेको छ । यो सिम्टन आइरहेको छ । यसलाई राम्रो मान्नुपर्छ । खेलले धेरै कुरामा सहयोग गरिरहेको हुन्छ तर हामी त्यसलाई नजरअन्दाज गर्दछौँ, खेलले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउँछ, अर्को भनेको खेलले संकटको बेला तत्काल उचित निर्णय लिने कुरामा पनि सहयोग गर्दछ ।’

गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ आजबाट सुरु भएको छ । टुर्नामेण्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरूले भाग लिन पाउनेछन् । विजेताले ७ लाख २५ हजार धनराशि बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ । 

Logo