बलियो नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी "मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता"मा फाइनल प्रवेश गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा झापाले आर्मीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
झापाको जीतमा कप्तान भेषराज लिम्बू र श्यामकुमार गोलेले एक-एक गोल गरे। खेलको पहिलो हाफ बराबरी सकिँदा दोस्रो हाफमा झापाले दुई गोल गरेको थियो। भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे। झापाका कप्तान भेष म्यान अफ द म्याच घोषित भए। प्रतियोगितामा आर्मीको पहिलो हार हो भने झापा अपराजित छ।
दोस्रो सेमिफाइनलमा केही समयपछि खुमलटार र सानो गौचरण नाइट किङ क्लब ( एसएनकेसी ) भिड्नेछन्। लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए।
एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखी ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ। प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।





























प्रतिक्रिया